नयाँ वर्षमा कन्दराको नयाँ गीत

चर्चित साङ्गीतिक ब्यान्ड कन्दराले  अङ्ग्रेजी नयाँ वर्षमा नयाँ गीत ल्याउने भएको छ  । नयाँ वर्ष सन् २०२५ लाई बिशेष बनाउन ब्याण्डले 'हुनेछ: द सङ अफ होप' ल्याउने तयारी गरेको हो । यस गीतका शब्द तथा सङ्गीत ब्यान्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन् । यो गीतलाई आशा र प्रेरणा दिने सन्देशमूलक गीतका रूपमा प्रस्तुत गर्न लागिएको छ । समग्रतामा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।

कन्दरा ब्यान्डका 'लेककी हे माया, बिदेसिएर गइन् उनी, चञ्चले कान्छीको, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता गीतहरू चर्चित छन्। कन्दराको भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । 

कन्दराले आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न 'पहिला घर देश अनि परदेश' नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ। त्यस्तै यही जनवरी २०२५ देखि बेलायतबाट वर्ल्ड टुरको प्रारम्भ गर्दै छ।