‘दुखी आत्मा’को जापान अधिकार विक्री

फस्टलुक सार्वजनिक भएसँगै फिल्म ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मको जापान वितरण अधिकार विक्री गरिएको छ । 

यो फिल्मलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए । 

निर्माण टिमले कति रकममा फिल्मको अधिकार विक्री गरेको हो भन्ने बिषयमा खुलाएको छैन । 

यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ । 

नेपालमा फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको हिमाल कडरियाको लगानी छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । 

फिल्मको अन्य देशबाट पनि माग भइरहेको निर्माणपक्षले जनाएको छ । केही दिनमै अधिकांश देशमा फिल्म विक्री भइसक्ने निर्माता कडरियाले जानकारी दिए ।