‘कार्साङ्’को ‘छुपुमा छुपु’मा दया र सिर्जनाको छमछमी
नायक दयाहाङ राईले समय दिएपछि फिल्म ‘कार्साङ्’ गीतको छायांकन मूलपानीमा गरिएको छ । दयाले समय दिन नसक्दा यो फिल्मको गीत नै सार्वजनिक गर्न निर्माणपक्षले पाएको थिएन । तर, सोमबारदेखि भने दया मूलपानीमा नृत्य गरिरहेका छन् ।
‘छुपुमा छुपु’ बोलको गीतमा दयाले नृत्य गरेका हुन् । गीतको भिडियोमा उनको साथमा कलाकार सिर्जना निङलेखुको पनि नृत्य हेर्न सकिनेछ । यम शेर्पाको निर्देशनमा तयार भइरहेको यो फिल्मको सम्पूर्ण छायांकन गीतको छायाङ्कनसँगै सकिने निर्माणपक्षले बताएको छ ।
यो गीतमा एसडी योगी र रेश्मा पुन मगरको स्वर, एसडी योगीको संगीत, वीपी खनालको शब्द छ ।
यो गीतको भिडियोलाई अभी लामाले कोरियोग्राफी गरिरहेका छन् । फिल्मका छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान हुन् ।
फिल्ममा जितु नेपाल, दिया मास्के लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको टिजर सार्वजनिक भएसँगै यसको चर्चा पनि सुखद देखिएको छ ।
गीत छायांकन सेटबाट निर्देशक यम शेर्पाले मेरो फिल्मसँग भने–‘यो गीत निकै राम्रो भएकाले हामीले भिडियो बनाएका हौं । दर्शकले यो गीतलाई मन पराउनुहुन्छ भन्ने विश्वास छ । यो गीतको भिडियो खिचेपछि हाम्रो सम्पूर्ण छायांकन सकिएको छ ।’
पुसको २६ गतेबाट रिलिजमा आउने यो फिल्मले शेर्पा समुदायको कथा भन्छ ।
प्रतिक्रिया