‘जन्ते बाख्रो’मा को–को भित्रिए ?

फिल्म ‘हात्तीछाप’ निर्देशनमा हेलचक्राई गर्दा निर्देशक सिमोस सुनुवारले आलोचना खुबै भोगे । यो फिल्मबाट उनको निर्देशकीय पक्षको मात्र आलोचना भएन, निर्माताले पनि राम्रै रकम घाटा व्यहोर्नु पर्यो । 

अब, यो फिल्मबाट पाठ सिकेर निर्देशक सुनुवार नयाँ फिल्म ‘जन्ते बाख्रो’को निर्देशनमा जुटेका छन् । केही हप्तामै छायांकन सुरु हुने यो फिल्मका लागि कलाकारहरुको लाइनअप पनि पुरा गरिएको निर्माणपक्षले बताएको छ ।

प्रदीप भारद्वाजको कथा रहेको यो फिल्ममा नायक सौगात मल्ल र नायिका गरिमा शर्मा फाइनल भइसकेका छन् । गरिमालाई पनि निर्माण टिमले अडिसनबाट फाइनल गरेको बताएको छ । अब, फिल्ममा ‘बिहे पास’ डेब्यू कलाकार रुसा न्यौपानेको पनि प्रवेश भएको छ । 

यस्तै, फिल्ममा नयाँ कलाकार स्नेहा जोशीको पनि प्रवेश भएको छ । स्नेहा मण्डला नाटक घरमा नाटकमा अभिनय गर्दै आएकी कलाकार हुन् । यस्तै, फिल्ममा विशाल पहारीको पनि प्रवेश भएको निर्माणपक्षले बताएको छ । यो फिल्मलाई कमेडी र प्रेमको कथामा बुनिएको वुझिएको छ । आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक पनि फिल्मको मुख्य भूमिकामा छन् । 

‘हात्तीछाप, लण्डन टू पेरिस, वर एण्ड वधु’ असफल भएपछि लेखक प्रदीप भारद्वाजको करिअरमा पनि धक्का लागेको छ । यसैले, कलाकारसँगै निर्देशक र लेखकका लागि पनि यो फिल्म विशेष बन्नुपर्ने देखिन्छ ।