काभ्रेको दाप्चामा ‘छक्का पन्जा ५’ टिमको सहयोग

फिल्म ‘छक्का पन्जा ५’को टिमले सहयोगी हात अगाडि बढाएको छ । बाढी प्रभावित काभ्रेको दाप्चामा खानेपानी सुविधा पुनःस्थापनाको लागि फिल्मको टिमले सहयोगी हात अगाडि बढाएको हो । 
फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्माले धारा निर्माणको लागि आवश्यक सामाग्री प्रदान गरेका छन् । 

दुई सातामा धारा बनिसक्ने बताइएको छ । यसपछि, धाराको शुभारम्भ गर्न फेरि ‘छक्का पन्जा ५’को टिम दाप्चा जानेछ । डेढ सय घरधुरीलाई खानेपानी सुविधा पुग्ने गरि धारा निर्माण गर्न लागिएको हो । 

फिल्म ‘छक्का पन्जा ५’को छायांकन पनि दाप्चामा गरिएको हो । धारा निर्माण सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरीले आफूलाई दाप्चा आउँदा आफ्नै घरमा पुगे जस्तो महशुश हुने बताए । 

‘छक्का पन्जा’को टिमले फिल्म छायांकन भएको स्थानमा सहयोग गर्दै आएको छ । यसअघि पनि ‘छक्का पन्जा’ छायांकन भएको स्थल काभ्रेको पनौती नगरपालिकालाई एम्बुलेन्स प्रदान गरिएको थियो । 

असोजको १२ गतेबाट रिलिजमा आएको यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरेको थियो ।