स्वस्तिमा लेख्छिन्–‘हामीले खेल हारेको होइन, जित्न मात्र नसकेको हो’

नायिका स्वस्तिमा खड्का एनपीएल क्रिकेटमा ‘कर्णाली एक्स’को सद्भावना दुत बनिन् । ‘कर्णाली एक्स’को हरेक खेलमा उनी मैदानमै पुगिन्, हौसला बढाइन् । स्वस्तिमाको क्रिकेटप्रतिको लगाव यसपटक दर्शकले पनि प्रष्ट देखिए ।

उनले सामाजिक संजालमा लेखेकी छिन्–‘एनपीएलका कारण म क्रिकेटसँग नजिक भएँ । दर्शक भएर हेर्दा मनमा हुने हलचल त मैले धेरै पटक भोगेकी थिएँ । तर, टिमै सदस्यका रुपमा बसेर हेर्दा जुन उकुसमुकुस र छटपटीले मलाई जीवनको सांगोपांगो रहस्य वुझ्न सघायो । म कुनै खेलमा यसरी डुबेको पहिलो पटक थियो । यो भावना व्यक्त गर्न मसँग कुनै उपमा र अलंकार छैनन् ।’

उनले, खेल हार्नु र जित्नु प्राविधिक बिषय भएको बताउँदै खेल हार्दा पनि जितको लक्ष्य बोकी हिँड्नेहरू कहिले पनि नहार्ने उल्लेख गरेकी छिन् । स्वस्तिमाले टिमको हौसला बढाउँदै लेखेकी छिन्–‘म विश्वस्त छु, आउँदो बर्ष हामी अझ बलियो रुपमा प्रस्तुत भएर त्यो ट्रफी उचाल्नेछौँ । यो लेखिरहँदा मेरो पनि भारी छ र तर खुशी पनि छु । हाम्रो टिमले उपाधि चुम्न सकेन । यो बर्ष नेपाली क्रिकेटले सगरमाथा चुमेको छ । अर्को बर्ष त्यो सगरमाथा हामी पुग्नेछौँ । यो बर्ष हामीले खेल हारेका होइनौ, जित्न मात्र नसकेका हौं ।’

उनले, क्यानका सचिव पारस खड्काले देखेको सपना साकार भएको भन्दै उनलाई पनि सम्मान व्यक्त गरेकी छिन् ।