अमेरिकामा अनमोल र आँचल उत्कृष्ट, शिव श्रेष्ठलाई ‘लाइफ टाइम अवार्ड’

अमेरिकाको क्यालिफोर्नियामा ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना भएको छ । वि.सं २०८० साल साउन १ गतेबाट वि.सं २०८१ साल असार मसान्तसम्म रिलिजमा आएका फिल्महरूलाई समावेश गरेर यो अवार्डको आयोजना गरिएको हो । 

यो समारोहमा नेपाली फिल्मका चर्चित नायक शिव श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । यस्तै, समारोहमा नायक अनमोल केसीले ‘फर्की फर्की’ फिल्मबाट ‘उत्कृष्ट नायक’को अवार्ड जित्दै गर्दा नायिका आँचल शर्माले फिल्म ‘डिग्री माइला’बाट ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् । 

यस्तै, समारोहमा नायक प्रदीप खड्का र नायिका केकी अधिकारीलाई ‘पपुलर अभिनेता र अभिनेत्री’को अवार्ड प्रदान गरियो । 



यस्तै, सर्वोत्कृष्ट फिल्म ‘पुजार सार्की’ले पाउँदा यही फिल्मबाट निर्देशक दिनेश राउतले ‘सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जितेका थिए । दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’बाट ‘सर्वोत्कृष्ट लेखन’, यही फिल्मबाट आलोक शुक्लाले ‘सर्वोत्कृष्ट छायांकार’, फिल्म ‘उपहार’बाट मित्र डी गुरुङले ‘सर्वोत्कृष्ट सम्पादक’, प्रमोद अग्रहरिले फिल्म ‘अगस्त्य’बाट ‘सर्वोत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरे ।

यस्तै, ‘जुरी अवार्ड’ ‘बोक्सीको घर’ले प्राप्त गर्यो । फिल्म ‘नाङ्गो गाउँ’बाट एसडी योगीले ‘सर्वोत्कृष्ट पाश्र्व गायक’ र ‘बोक्सीको घर’बाट समीक्षा अधिकारीले ‘उत्कृष्ट पाश्र्व गायिका’को अवार्ड जितिन् । ‘क्रिटिक्स अवार्ड’ भने फिल्म ‘गाउँ आएको बाटो’ले जितेको छ । 

यो अवार्डमा सहभागी हुन नेपालबाट नायकहरू भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, कलाकार जितु नेपाल, केदार घिमिरे, निर्देशक दीपाश्री निरौला, नायिका केकी अधिकारी, आँचल शर्मा, नीति शाह, कलाकार सुनिल थापा, कार्यक्रम संचालिका रीमा विश्वकर्मा लगायत अमेरिका पुगेका थिए । 

हिमालय फाउन्डेसन कर्प अनि गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा यो अवार्ड सम्पन्न भएको हो ।