सोनु निगमको कन्सर्टका लागि यसरी तयार हुँदैछ भव्य स्टेज

भारतका सर्वाधिक सफल तथा चर्चित गायक सोनु निगम बुधबार नेपाल आउने तयारीमा छन् । निगमले डिसेम्बर २५ मा आयोजना हुन लागेको भव्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन लागेका हुन् । 

पुसको १० गते अर्थात् क्रिसमस डेको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुँदैछ । उक्त कन्सर्टलाई लिएर संगीत प्रेमी दर्शकहरुमा उत्साह देखिएको छ । 

आयोजकका अनुसार, निगमको कन्सर्टका लागि ७० प्रतिशत टिकट विक्री भइसकेको छ । नेपाली टच अष्ट्रेलीयाका संस्थापक तथा संगीतकर्मी राज के गोस्वामीका अनुसार, कन्सर्टलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखिएको छैन । 



बौद्धस्थित हायात होटलको खुला चौरमा यो कन्सर्टको आयोजना हुँदैछ । यसका लागि अहिले आयोजकले स्टेज बनाउने काम धमाधम गरिरहेको छ । 

कार्यक्रममा दर्शकका लागि ४ बजे गेट खुला गरिनेछ । उक्त कार्यक्रममा सोनु निगमले ३ घण्टासम्म दर्शकलाई झुमाउने बताइएको छ । 

सोनु निगम बुधबार मुम्बईबाट नेपाल आउनेछन् भने बिहिबार फर्किनेछन् । बुधबार राती १० बजे उनी स्टेज चढ्ने बताइएको छ । आयोजकले उक्त कन्सर्टमा १० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरेको बताइएको छ ।