नयाँ बर्षमा एक्सन फिल्मको भिड

नयाँ बर्षमा नेपाली फिल्म क्षेत्रका मेकरहरुको आँखा सधैं नै पर्दछ । नयाँ बर्षमा फिल्मले राम्रो व्यापार गर्ने भएर होला मेकरहरु यो मितिमा सधैं नै आँखा लगाएर बस्छन् । 

नयाँ बर्षको छेको पारेर यो बर्ष पनि फिल्म रिलिजको संख्या थपिन थालेको छ । तर, रोचक कुरा के छ भने चैत्र २९ गते रिलिजमा आउन लागेका सबै फिल्म एक्सन जनरामा केन्द्रित छन् । 

अहिलेसम्म औपचारिक रुपमा दुई वटा एक्सन फिल्मले चैत्र २९ लाई प्रदर्शन मिति तय गरिसकेका छन् । चैत्र २९ मा कृषा चौलागाईंको निर्देशनमा तयार भएको फिल्म ‘पिताम्बर’ रिलिज हुने पक्का भएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरुको एक्सन अवतार देख्न सकिन्छ । फिल्मका मुख्य नायक प्रदीप खड्का एक्सन अवतारमा देखिएका छन् भने सौगात मल्लको गेटअप पनि दर्शकको ध्यान खिच्न सफल छ । यो फिल्मका लागि कृषाले निकै मिहिनेत गरेको बताउँछिन् । 

यो मितिमा सौरभ चौधरीको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘कर्मा’ पनि रिलिजमा आउँदैछ । यो फिल्ममा नायक विपिन कार्कीको एक्सन अवतार हेर्न पाइनेछ । फिल्मको छायांकनमा निकै मिहिनेत गरिएको र दर्शकले केही फरक कथामा फिल्म हेर्न पाउने दाबी निर्माताको छ । सौरभले यसअघि बनाएको ‘अगस्त्य’ले चर्चा पाएका कारण पनि ‘कर्मा’प्रति दर्शकको चासो बढ्नु स्वभाविक नै हो । 

यो मितिमा दिवाकर भट्टराइको निर्देशनमा बनिरहेको फिल्म ‘नरसिंहाः अवतार’ पनि रिलिज गर्ने आन्तरिक तयारी छ । यसका मेकरले बाहिर फिल्मको मिति तोकिसकेका छैनन् । फागुनको १४ गतेबाट पोष्टपोन्ड भएको फिल्मलाई चैत्र २९ गते रिलिज गर्ने आन्तरिक तयारी रहेको वुझिएको छ । फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिसा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्म पनि पूर्ण रुपमा एक्सन कथामै केन्द्रित छ । चन्द्र पन्तले फिल्ममा एक्सनको निर्देशन गरिरहेका छन् । 

उसो त यो मितिमा फिल्म ‘बलिदान’ रिलिज गर्ने चर्चा पनि छ । तर, अहिलेसम्म यसको निर्माणपक्षले रिलिज मितिको बिषयमा केही पनि बोलेको छैन । 

चैत्र २९ गते तीन वटा फिल्म रिलिज हुने पक्का जस्तै छ । यी तिनै फिल्म एक्सन प्रधान छन् । जसकाकारण, हलमा जुनसुकै फिल्म हेर्न पुगे पनि दर्शकले एक्सन जनराकै फिल्म हेर्न पाउनेछन् ।