‘बलिदान’को सेटमा किन पुग्छन् विराज ?
नायक विराज भट्ट नयाँ फिल्मको तयारीमा छन् । उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको कथामा काम भइरहेको वुझिएको छ । तर, विराज फिल्म ‘बलिदान’को सेटमा भने खुबै देखिन्छन् । यो फिल्ममा उनका छोरा समीर भट्टले मुख्य भूमिकामा काम गरिरहेका छन् ।
सन्तोष सेनको निर्देशनमा तयार भइरहेको यो फिल्मको छायांकन अन्तिम चरणमा छ । फिल्ममा समीरको साथमा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय छ।
फिल्मको अन्तिम चरणको छायांकन पूर्वमा भइरहँदा विराज भने अधिकांश समय छायांकन सेटमा नै भेटिन्छन् । तर, यो फिल्ममा उनको अभिनय भने छैन ।
वुझिएअनुसार, विराजलाई सेटमा समीरले नै बढी खोज्छन् । आफ्ना पिता सेटमा नै भइदिए हुन्थ्यो भन्ने चाहना समीरको छ । यसैले, पनि विराज छोरा समीरका लागि सेटमा बढी देखिएका छन् ।
विराज विशेषगरि, फिल्मको एक्सनको दृश्यमा आफ्नो अनुभव पनि शेयर गर्छन् । मध्यरातको जाडोमा होस् या दिउँसो नै छायांकन किन नपरोस्, विराज छोराको फिल्मका लागि सेटमा उपस्थित छन् ।
यो फिल्ममा श्री श्रेष्ठको एक्सन छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्मको छायांकन सकिएको भोलिपल्टै टिजर सार्वजनिक गरेर प्रदर्शन मिति तय गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया