‘कमेडी दरबार’: द्धिअर्थी शब्दको बाढी, उस्तै स्क्रिप्ट कहिलेसम्म ?

प्राइम टेलिभिजनबाट हरेक हप्ता सार्वजनिक भइरहेको ‘कमेडी दरबार’ नामक कमेडी रियालिटी शो अहिले चर्चामा छ । सामाजिक संजालमा पनि यो शोका अंशहरू भाइरल छन् । युट्युबमा पनि भ्यूज सुखद छ । 

पहिले ‘कमेडी क्लब विथ च्याम्पियन्स’को टिमसँग सहकार्य गरेका विक्की अग्रवाल र श्रद्धा प्रसाँइ अहिले टुक्रिएर यो शो संचालन गर्न पुगेका हुन् । शोमा कमेडी कलाकारहरुको राम्रै उपस्थिति छ भने केही नयाँ पनि छन् । 

यो शो सुरु भएदेखि नै दर्शकको नजरमा पर्न सक्नुको कारण यसको केही जोक्सहरु हुन् । साथमा, आफैले आफैंलाई रोस्ट गर्ने, उपस्थित पाहुनाको मजाक उडाउने भएकाले पनि यो शोमा दर्शकको ध्यान बढी गएको पाइन्छ । 

तर, यो शोका संचालक विक्की अग्रवाल ‘जे जस्तो होस्, शो हिट हुनुपर्छ’ भन्ने सोचका साथ अगाडि बढेको देखिन्छ । शोमा विशेषगरि, पवन खतिवडा ‘म्याकुरी’ र सुन्दर खनाल हाबी छन् । ‘कमेडी च्याम्पियन १’को विजेता भएपनि हिमेश पन्तको प्रस्तुतिले दर्शकको मन खासै जितेको पाइँदैन । 

शोमा नायिका नम्रता सापकोटा पनि छिन् । उनको अभिनय आलोचनाको घेरामा छ । मिस पबी पनि खासै लयमा छैनन् । बरु, महिला कलाकारमा सुजता श्रेष्ठको प्रस्तुति राम्रो छ । 

तर, पवन खतिवडा ‘म्याकुरी’ र सुन्दर खनालको प्रस्तुति राम्रो भएपनि उनीहरू बढी द्धिअर्थी जोक्समा रमाएको पाइन्छ । कहिलेकाही त शोमा पुग्ने अतिथीहरु पनि रातोपिरो हुने गरि उनीहरू द्धिअर्थी जोक्स भन्न पछि पर्दैनन् । 

हालै सार्वजनिक नयाँ सुहागरात मनाउने भन्दै म्याकुरीले मिस पबीलाई भन्छन्–‘लुडो नखेलौँ । फेरि खाट खट्याक खट्याक गर्छ, दुनियाँले शंका मात्र गर्छन् ।’

यस्तो जोक्सहरु शोमा धेरै हाबी छ । जुन, पारिवारिक शोका लागि सुखद कुरा होइन । अर्कोतिर, म्याकुरीले आफ्नो डिभोर्सको कुरा पहिलो भागदेखि नै दोहोर्याइरहेका छन् । अब, दर्शकका लागि उनको यो कुरा ओभरडोज भइसकेको अवस्था हो । 

यो कमेडी शो भन्दा पनि रोस्ट शो हो भन्दा फरक नपर्ला । कलाकारहरू अरुको रोस्ट गरेरै रमाइरहेका छन् र निर्देशक विक्की सोही विषयले भ्यूज पाएको भन्दै दंग छन् । अहिले, यो शोको प्रतिस्पर्धामा अर्को शो बजारमा आएको छैन । तर, भोलिका दिनमा अर्को शो आएको खण्डमा यो शोका कलाकारहरूलाई नयाँ नयाँ विषयवस्तु प्रस्तुत गर्न धौ धौ पर्ने देखिन्छ ।