पौषदेखि चैत्रसम्म, कुन कुन फिल्म हुँदैछन् रिलिज ?
असोज र कात्तिक महिना नेपाली फिल्म क्षेत्रका लागि ब्लकबस्टर भयो । बक्स अफिसमा नेपाली फिल्मले ५० करोडसम्मको आँकडा छुन सक्छ भन्ने सन्देश कात्तिक महिनाले दिएको छ ।
तर, मंसिर महिना नेपाली फिल्मका लागि सुखद बन्न सकेन ।
मंसिर महिनामा फिल्म ‘तेल भिसा र अग्नीदहन’ रिलिज भएका थिए । ‘अग्नीदहन’ बक्स अफिसमा सुपर फ्लप हुँदा ‘तेल भिसा’ औषत मात्र चल्यो । यसैले, अबका दिन नेपाली फिल्मका लागि कस्तो रहला, यो बारेमा चर्चा गर्न आवश्यक छ ।
पौष महिनामा ‘बमबहादुर र कार्साङ’ नामक फिल्म रिलिज हुँदैछन् । पौषको चिसो महिनामा नेपाली फिल्मका निर्माताहरू फिल्म रिलिज गर्न डराउँछन् भन्ने उदाहरण यसपटक पनि देखिएको छ ।
माघ महिनामा अहिलेसम्म ‘एक्टर, केटी हराएको सूचना र फिरफिरे फिरिरी’ रिलिजमा आउने पक्का भइसकेको छ । माघको ४ गते ‘फिरफिरे फिरिरी’, माघको ११ गते ‘केटी हराएको सूचना’ र माघको १६ गते ‘एक्टर’ रिलिजमा आउन लागेका हुन् । अहिलेसम्म माघ महिनामा ३ वटा फिल्म रिलिजका लागि तयार भएका छन् ।
फागुन महिनामा भने फिल्म रिलिजको लाइनअप बलियो छ । फागुन २ गते ‘दुखी आत्मा, ताण्डवम्’, फागुनको १४ गते ‘लाज शरणम्, मायाबी र फेरि रेशम फिलिली’ रिलिजमा आउँदैछन् । यस्तै, फागुनको २९ गते फिल्म ‘अन्जिला’ रिलिजमा आउने पक्का भइसकेको छ ।
यो मितिमा फिल्म ‘पिताम्बर’ रिलिज हुने चर्चा चलेपनि अहिलेसम्म औपचारिक रुपमा घोषणा गरिएको छैन ।
बक्स अफिसमा माघ र फागुन महिना विशेष देखिएको छ । चैत्र महिनामा फिल्म ‘राजागञ्ज, द्रौपदी, बसन्त’को रिलिज घोषणा गरिएको छ । ‘राजागञ्ज’ चैत्र १, ‘द्रौपदी’ चैत्रको ८ र ‘बसन्त’ चैत्रको २३ गते रिलिज गर्ने घोषणा गरिएको छ ।
यस्तै, चैत्रको ३० गते नयाँ बर्षको छेको पारेर ‘कर्मा’ रिलिज गर्ने पक्का भइसकेको छ । यही मितिमा प्रतीक्षित दुई फिल्म ‘नरसिंहाः अवतार र बलिदान’ पनि रिलिजमा आउने चर्चा भइरहेको छ । तर, अहिलेसम्म यी दुई फिल्मका निर्माताले अफिसियल रुपमा घोषणा भने गरेका छैनन् ।
वैशाखदेखि मङसिरसम्मको बक्स अफिसको अवस्था हेर्दा नेपाली फिल्मका लागि निकै सुखद मान्नुपर्छ । कुनै महिना कमजोर त कुनै महिना ब्लकबस्टर भएपनि समग्रमा ८ महिना नेपाली फिल्मका लागि निकै फलदायी रह्यो । अबका चार महिना पनि सुखद भएको खण्डमा, यो बर्ष नेपाली फिल्मको इतिहासकै सर्वाधिक सफल वर्षको रुपमा दहरिनेछ ।
प्रतिक्रिया