जितु भन्छन्–‘म कलालाई पारिश्रमिकसँग तुलना गर्दिनँ’

कलाकार जितु नेपालले आफूले कलालाई पारिश्रमिकसँग नबाँड्ने बताएका छन् । जितुले मिडिया कुराकानीमा भने–‘मैले फिल्म साइन गर्दा नै  निर्माता निर्देशकसँग पारिश्रमिकको बिषयमा बाहिर हल्ला गर्न नपाइने सर्त राखेको हुन्छु । म र मेरो टिमका केही मानिसबाहेक अरूलाई मेरो पारिश्रमिकको बिषयमा थाहा नहोस् भन्ने म चाहन्छु । म कलालाई पारिश्रमिकसँग बाड्दिनँ ।’

जीतुले अगाडि भने–‘भोलिका दिनमा पैसा रहँदैन, मैले गरेको काम मात्र रहने हो । मैले कति पैसा लिएँ भन्ने कुरा कहाँ रहन्छ र ? मेरो कृती बाँकी रहने हो ।’

जितुले आफ्ना सहकर्मी केदार घिमिरे देशकै महँगो कलाकार भएकोमा खुशी व्यक्त गरे । उनले मिडियासँग भने–‘केदारजीलाई धेरैले धेरै भूमिकामा हेर्न चाहनु भएको थियो । अहिले उहाँ भटाभट फिल्म साइन गर्दै हुनुहुन्छ । मैले भनेको मिलेको छ जस्तो पनि लाग्छ । केदारजीको कुराले मलाई खुशी लागेको छ ।’

‘छक्का पन्जा’को टिम फुटेको बिषयमा भने जीतुले केही पनि थाहा नभएको प्रतिक्रिया दिए । कलाकार जितु नेपाल पनि एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । उनले, अहिलेको अवस्थामा आफूलाई आफ्नो बारेमा मात्र थाहा भएको प्रतिक्रिया दिए ।