पारिश्रमिकको चर्चामा फेरिएका अनुहार

फिल्म ‘कृ’मा काम गर्दा नायक अनमोल केसीले २० लाख पारिश्रमिक लिएको चर्चा भयो । यसपछि नेपाली मिडियामा कलाकारहरुको पारिश्रमिकलाई लिएर बहस हुन थाल्यो । यसपछि अनमोलको पारिश्रमिक ५० लाख पुग्यो । चर्चा झनै चुलियो । 

नेपाली कलाकारहरुको चर्को पारिश्रमिकलाई लिएर सुरु भएको चर्चा अहिले पनि जारी नै छ । कुनै समय अनमोल केसी, प्रदीप खड्काहरू पारिश्रमिकको बहसमा अगाडि देखिएका थिए । तर, अहिले पात्र फेरिएका छन् चर्चा उस्तै छ । 

विगत केही दिनदेखि नेपाली फिल्म क्षेत्रमा पारिश्रमिकको बहसमा अग्रपङ्क्तिमा देखिएका कलाकार हुन्, केदार घिमिरे ‘माग्ने बुढा’ । विशेषगरि, फिल्म ‘माग्ने राजा’मा उनले लिएको पारिश्रमिकले बहस सिर्जना गरेको छ । यो फिल्मका लागि उनले ५० लाख लिएको चर्चा फिल्मी बजारमा छ । तर, विशेष श्रोतका अनुसार उनले यो फिल्मका लागि ४० लाख लिएका छन् ।

केदारले अहिले निर्माताहरूलाई आफ्नो पारिश्रमिक ६० लाख पुगेको बताउँदै आएका छन् । उनले, अन्य निर्मातासँग गरेको पारिश्रमिकको संझौता समेत देखाउने गरेको खबर पनि बाहिरिएको छ । 

केदारले साइन गरेका ‘कङ्गारु, जेरीः अन टप, माइतीघर’मा पनि उनले महँगो पारिश्रमिक लिएको वुझिएको छ । पारिश्रमिकको चर्चामा अहिले कलाकार विजय बराल पनि अगाडि आएका छन् । विजयले फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ चलेपछि आफ्नो पारिश्रमिक बढाएको वुझिएको छ । श्रोतका अनुसार, विजय अहिले २० लाख रुपैयाँ माग गर्छन् । 

उनले, २० लाख रुपैयाँ दिने निर्माताको फिल्ममा काम गर्ने बताउँदै आएका छन् । ३–४ लाख पारिश्रमिकबाट विजय पनि अब २० लाख डिमाण्ड गर्ने अवस्थामा पुगेका छन् । 

नायक विपिन कार्कीले ५० लाख पारिश्रमिक माग्ने गरेको चर्चा त नौलो होइन । फिल्म ‘प्रसाद २’मै उनले २० लाख बुझेको चर्चा भएको थियो । यसपछि उनले फिल्म ‘तेल भिसा’मा पनि ५० लाख लिएको खबर सार्वजनिक भएको थियो । 

अनमोल केसी आज पनि ५० लाख नै पारिश्रमिक लिने गर्छन् । अहिले पारिश्रमिकको चर्चामा उनी पछि परेपनि उनको पारिश्रमिक भने फेरिएको छैन । 

अहिले केही नाम चलेका कलाकारहरू लिने हो भने निर्माताले कलाकारमा मात्र १ देखि डेढ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ ।