‘ह्रस्व दीर्घ’को ओटीटी अधिकार ‘जी फाइब’ले किन्यो


नेपाली बक्स अफिसमा १० करोड माथिको ग्रस कलेक्शन गरेको फिल्म ‘ह्रस्व दीर्घ’ भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइब’मा विक्री भएको छ । 

आज फिल्मकी निर्मात्री नीता ढुंगाना र कलाकार हरिहर अधिकारीले जी फाइबसँग कागजी संझौता गरेका हुन् । भारतको लोकप्रिय ओटीटी प्लेटफर्ममा विक्री भएको यो पहिलो नेपाली फिल्म हो । 

यसको सम्पूर्ण प्रवन्ध भने फिल्मका निर्देशक चन्द्र पन्तले मिलाएका हुन् । चन्द्र पन्तले ओटीटीमा फिल्म विक्री गर्नका लागि निकै मिहिनेत र दौडधुप गरेका थिए । उनको मिहिनेत, सम्बन्धका कारण यो काम संभव भएको हो । नेपाली फिल्मका लागि यो एउटा कोशेढुंगा बन्ने देखिएको छ । 

संझौता पश्चात मेरो फिल्मसँग कुराकानी गर्दै निर्देशक पन्तले भने–‘हामीले यो कामका लागि निकै मिहिनेत गरेका छौं । आज आएर यो काम संभव हुँदा निकै खुशी लागेको छ । नेपाली फिल्म क्षेत्रका लागि यो ठूलो कोशेढुंगा बन्नेछ भन्ने मलाई विश्वास छ । म अन्य फिल्मका लागि पनि यो कदममा साथ दिन तयार छु । जी फाइब र नेपाली फिल्मीकर्मीको बिचमा पुल बनेर काम गर्न म तयार छु ।’

फिल्मलाई कती रकममा जी फाइबले किन्यो भन्ने खुलेको छैन । तर, महंगो रकममा यो फिल्मलाई जी फाइबले ओटीटी राइट्स किनेको वुझिएको छ । 

फिल्मको नेपाली र साउथ भर्सन बाहेकको सम्पूर्ण भाषाको ओटीटी राइट्स जी फाइबले किनेको हो । 

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा भारतीय चर्चित कलाकारहरुको पनि अभिनय छ । यसकारण, पनि जी फाइबले यो फिल्म किन्न रुची देखाएको वुझ्न सकिन्छ । फिल्ममा प्रदिप राउत, ब्रम्हानन्दम, अली, सुनिल वर्मा लगायतका भारतीय कलाकारहरुको अभिनय छ ।

साथमा फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, किरण केसी, गरिमा शर्मा, संचिता लुइटेल, रेखा थापा लगायतका कलाकारहरुको अभिनय छ ।