स्टार सन्तानका लागि फिल्मीकर्मीको दौडधुप
नायक विराज भट्ट फिल्म ‘बलिदान’को सेटमै पुग्छन् । छोरा समिर भट्टको काम हेर्न मात्र होइन, फिल्मको एक्सनलाई उनले नजिकबाट नियालिरहेको वुझिएको छ । पहिलो फिल्म ‘१२ गाउँ’ हिट भएपछि समीरलाई लिएर आम दर्शकमा अपेक्षा पनि उच्च छ । यसैले, विराज आफ्नो होम प्रोडक्सन बाहिरको फिल्म भएपनि चासोका साथ ‘बलिदान’सँग जोडिएका छन् । छोरा समीर भट्टको करिअरलाई लिएर विराज गम्भीर छन् । यसैले, फिल्मको सेटमा उनको दौडधूप अर्थपूर्ण छ ।
फिल्म क्षेत्रमा नाम चलेका केही कलाकारहरूका छोराछोरी अहिले यो क्षेत्रमा चर्चामा छन् । छोराछोरीको करिअर तलमाथि होला कि भन्ने डर बाबु–आमामा देखिन्छ ।
नायक अनमोल केसीको करिअरलाई लिएर उनका पिता भुवन केसी निकै गम्भीर देखिन्छन् । अनमोलको सुटिङ सेटमा भुवन पुग्नु न कुनै नौलो कुरा नै भएन । फिल्म ‘जेरी अन टप’मा पनि उनी अनमोलको पिताको भूमिकामा देखिदैछन् ।
फिल्म क्षेत्रमा देखिएको बक्स अफिस उतार चढावलाई पनि भुवनले गम्भीर रुपमा हेरिरहेका छन् । पछिल्लो समय अनमोलको फिल्मले अपेक्षित व्यापार गर्न सकिरहेका छैनन् । तर, यही समयमा अन्य कलाकारहरुको स्टारडमको चर्चाले अनमोललाई पछि पार्छ कि भन्ने पिर पनि भुवन केसीलाई छ ।
नायिका सुहाना थापाको करिअरलाई लिएर उनकी आमा निर्देशक झरना थापा र पिता सुनिल कुमार थापा पनि गम्भीर देखिएका छन् । तीन वटा घरकै फिल्ममा काम गरेपछि सुहाना घर बाहिरको फिल्म ‘परालको आगो’मा काम गर्दैछिन् । वुझिएअनुसार, यो फिल्मको मुख्य भूमिकाका लागि सुहानाका माता–पिताले निर्माता सुशील पोखरेलसँग कुरा गरेका थिए । घर भित्रका ३ फिल्ममध्ये सुहानाको दुई हिट र एक फ्लप भयो । अब, उनलाई घर बाहिरका राम्रा फिल्ममा काम गराउन सुनिल र झरना गम्भीर देखिएका छन् ।
नायक सलोन बस्नेतको करिअरलाई लिएर उनका पिता शोभित बस्नेतको चिन्ता पनि कम छैन । सलोन सलिना फिल्मस् बाट निरन्तर फिल्म बनाउने मात्र होइन, सलोनलाई नै मुख्य भूमिकामा राखेर होम प्रोडक्सनमै फिल्म निर्माण गर्न पनि शोभित अगाडि छन् ।
अहिले होम प्रोडक्सनको फिल्म ‘रंगी’को पोष्ट प्रोडक्सनको काम चलिरहेको छ, जहाँ सलोन मुख्य भूमिकामा छन् । सलोनको करिअरलाई लिएर शोभित जहिले पनि गम्भीर नै रहेको पाइन्छ ।
केही दिन अगाडि नायक प्रदीप खड्काले नेपाली फिल्म क्षेत्रमा ‘फ्यामेली विजनेश’ चलिरहेको बताएका थिए । उनको कुरामा कतिपयले सहमति जनाए भने कतिपयले आलोचना पनि गरे ।
तर, स्टार कलाकारहरूका स्टार छोराछोरीको चर्चा सधैं हुने गर्दछ । र छोराछोरीका लागि बाबु–आमाको चिन्ता र दौडधूप पनि खुबै भएको पाइन्छ ।
प्रतिक्रिया