कलाकारहरुलाई क्रिकेटले दिएको खुशी

नायक राजेश हमाल ‘लुम्बिनी लायन्स’को सद्भावना दुत हुन् । ‘एनपिएल’को रौनक चलिरहेको समयमा हमाल एकपटक मैदानमा देखिएका थिए । सोही दिन उनको टिमले खेल हार्यो । 

तर, चौथो हलमा लुम्बिनीले ‘चितवन राइनोज’लाई हराउँदा हमाल लुम्बिनीमा थिए । ‘लुम्बिनी लायन्स’ले पहिलो जित निकालेपछि हमाल उत्साहित देखिए । सामाजिक संजालमा उनले पोष्ट गरेको भिडियोमा, उनी उत्साहित हुँदै खेल हेरिरहेको देख्न सकिन्छ । साथै, उनले आगामी दिनमा पनि लायन्सले जित निकाल्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

यता, ‘कर्णाली याक्स’को सद्भावना दुत रहेकी नायिका स्वस्तिमा खड्का हरेक खेल हेर्न मैदानमा नै पुग्ने गरेकी छिन् । दुई खेल निरन्तर हार्दा निराश देखिएकी स्वस्तिमा अहिले निकै खुशी छिन् । उनी, क्रिकेट मैदानमा निकै खुशी भएको भिडियोहरू सार्वजनिक भइरहेका छन् । ५ खेलमा कर्णालीले ३ खेल जितेको छ । 

स्वस्तिमा मैदानमा नाचिरहेकी छिन् । कहिले आयोजकका सदस्यहरुको काँधमा चढेर उत्साहित भएको भिडियो पनि टिकटकमा भाइरल छन् । 

फिल्म ‘रिमै’को छायांकन सेटमा रहेकाले नायक दयाहाङ राई मैदानमा पुग्न पाएका छैनन् । तर, उनी सद्भावना दुत रहेको ‘विराटनगर किंग्स’ले अपेक्षित खेल खेलिरहेको छैन । 

यसपटक ‘एनपिएल’ले फिल्म क्षेत्रलाई पनि गज्जबले जोडिरहेको छ । कलाकारहरूले पनि क्रिकेट मैदानमै पुगेर खेल हेरिरहेका छन् । सद्भावना दुत रहेका कलाकारहरूलाई त क्रिकेटले छपक्कै छुने भइहाल्यो । तर, अन्य कलाकारहरू पनि मैदानमा निरन्तर पुगिरहेको देख्न सकिन्छ । 

नायिकाहरू रेखा थापा, पूजा शर्मा, उपासना सिंह ठकुरी, सुपुष्पा भट्ट, नायक पुष्प खड्का लगायत पनि क्रिकेटमा मैदानमा पुगेका छन् ।