सिमित कलाकारको वरिपरी घुमेको फिल्म क्षेत्र

हाल दर्जन बढी फिल्मको छायांकन भइरहेको छ । निर्माताहरू नयाँ–नयाँ फिल्मको छायांकन गर्ने तयारी गरिरहेका छन् । 

तर, छायांकन भइरहेका र छायांकनमा जान लागेका मात्र होइन, रिलिज हुन लागेका फिल्मको लाइनअप हेर्ने हो भने पनि सीमित कलाकारको वरिपरी नै यो क्षेत्र घुमेको देखिन्छ । 

औलामा गन्न सकिने केही कलाकारकै वरिपरी निर्माता दौडिरहेका छन् । यो बर्ष पनि धेरै निर्माता नायक दयाहाङ राइको वरिपरी नै दौडिरहेका छन् । दयाका यो बर्ष ४ वटा फिल्म रिलिज भइसकेका छन् भने अझै ३–४ वटा फिल्म रिलिजको तयारीमा छन् । रोचक कुरा के छ भने, दयाको समय प्रतीक्षा गरिरहेका निर्माताहरुको संख्या पनि लामो छ । 

नायक सौगात मल्लको अवस्था पनि उस्तै छ । सौगातको हातमा पनि फिल्मको सूची लामै छ । निर्माताहरू उनको समय कुरेर बसिरहेका छन् । फिल्म ‘तेल भिसा’ रिलिज भएको केही सातामै नायक विपिन कार्की ‘कर्मा’ फिल्मको सेटमा जोडिएका छन् । उनको ‘उनको स्विटर’को काम पनि केही समय अगाडि सकियो । विपिनले फिल्म ‘पहाड’ पनि साइन गरिसकेका छन् । 

मेकरहरुले गायकबाट नायक बनेका प्रकाश सपुतलाई पनि आराम गर्न नदिने अवस्था छ । फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ रिलिजपश्चात उनले फिल्म ‘बसन्त’को छायांकन धमाधम गरिरहेका छन् । यो फिल्मको छायांकन सक्ने वित्तिकै उनले ‘सोल्टिनी’को छायांकन अगाडि बढाउँदैछन् । यसपछि उनी फिल्म ‘हरिबहादुरको जुत्ता’मा काम गर्दैछन् । यसपछि, उनले रोहित अधिकारीको फिल्म ‘माइतीघर’मा काम गर्दैछन् । यो फिल्म सकिने वित्तिकै प्रकाश आफ्नै प्रोडक्सनको फिल्म अगाडि बढाउने तयारीमा छन् । 

यो बर्ष फिल्म ‘पुजार सार्की र छक्का पन्जा ५’मा काम गरेका नायक आर्यन सिग्देलले फिल्म ‘के घर के डेरा २’को छायांकन सकाए । यो फिल्म सकिए लगतै अब उनी ‘महाभोज’को तयारीमा छन् । 

नायक खगेन्द्र लामिछानेको वरिपरी पनि फिल्म क्षेत्र घुमिरहेको छ । फिल्म ‘के घर के डेरा २ र विमान’को छायांकन सके लगतै उनले फिल्म ‘महाभोज’को छायांकन सुरु गर्ने तयारी गरेका छन् । 

नायक अनमोल केसी, प्रदीप खड्का, पल शाह, समीर भट्टको व्यस्तता पनि उस्तै छ । केदार घिमिरे, विजय बराल पनि अहिले सर्वाधिक खोजिएका कलाकार हुन् । यी नायकहरू पनि एउटा फिल्मको छायांकन सकेर अर्कोमा जोडिएका छन् । नायिकाहरूको हकमा स्वस्तिमा खड्का, मिरुना मगर, आँचल शर्मा, अन्जना बराइली, उपासना सिंह ठकुरी बढी व्यस्त देखिएका छन् । उनीहरुलाई लिएर फिल्म बनाउन निर्माताहरुको हानथाप बढी देखिएको छ । 

यसरीहेर्दा, नेपाली फिल्म क्षेत्र केही कलाकारहरुको वरिपरी नै घुमेको देखिन्छ । अझ, फिल्म निर्माणको संख्या बढ्दा यी कलाकारहरुको समय मिलाउन निर्मातालाई धौ–धौ पर्ने देखिन्छ ।