छायांकनमा दर्जन फिल्म, तयारी पनि उस्तै

हरेक प्रकारका कथामा दर्शकको चाहना देखिएपछि नेपाली मेकरहरु उत्साहित छन् । उनीहरू, विभिन्न कथामा फिल्म भन्नका लागि अग्रसर देखिएका छन् । दशैं र तिहारमा रिलिज भएका फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरेपछि निर्माताहरू हौसिएका हुन् । 

अहिले छायांकन भइरहेका अधिकांश फिल्म फरक फरक जनराका छन् । कुनै कमेडी, कुनै एक्सन त कुनै सामाजिक कथामा फिल्म बनिरहेको देख्न सकिन्छ । 

फिल्म ‘बलिदान’ एक्सन जनरामा निर्माण भइरहेको फिल्म हो । यसको अन्तिम चरणको छायांकन भइरहेको छ । सन्तोष सेनले बनाइरहेको यो फिल्ममा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । 

सशान कँडेलको निर्देशनमा बनिरहेको फिल्म ‘होस्टेल ३’, कुमार कट्टेलको निर्देशनमा बनिरहेको कमेडी फिल्म ‘लाज शरणम्’को पनि हाल धमाधम छायांकन भइरहेको छ । यी दुबै फिल्म फागुनको १४ गतेबाट रिलिजमा आउँदैछन् । 

यस्तै, दिवाकर भट्टराइको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’को पनि छायांकन भइरहेको छ । एक्सन जनराको यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिसा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्म ‘डोरी’को पनि हाल धमाधम छायांकन भइरहेको छ ।

अरुण लामा यो फिल्मका निर्देशक हुन् । फिल्म ‘रिमै’को छायांकन गोरखामा भइरहेको छ । खिलबहादुर गुरुङ यो फिल्मका निर्देशक हुन् । लोकेश बज्राचार्यको निर्देशनमा तयार भइरहेको फिल्म ‘विमान’, सुयोग गुरुङको निर्देशनमा बनिरहेको फिल्म ‘जेरी अन टप’को पनि धमाधम छायांकन चलिरहेको छ । निर्देशक प्रकाश सपुत फिल्म ‘बसन्त’को छायांकनको अन्तिम चरणमा छन् । 

यता, निर्देशक कृषा चौलागाई फिल्म ‘पिताम्बर’को पोष्ट प्रोडक्सनमा व्यस्त छिन् । निर्देशक दीपेन्द्र लामाको फिल्म ‘दुखी आत्मा’को पनि धमाधम पोष्ट प्रोडक्सन चलिरहेको छ । फिल्म ‘फेरि रेशम फिलिली, जुनकिरी’को पनि छायांकन केही दिन अगाडि मात्र सकिएको छ । 

कुनै फिल्मको छायांकन हालसालै सकिएको छ भने कुनै फिल्मको छायांकन धमाधम चलिरहेको छ । तर, नयाँ फिल्म छायांकनका लागि पनि निर्माताहरू तयारीमा छन् । 

फिल्म ‘हरिबहादुरको जुत्ता, कल्ली, माइतीघर, परालको आगो, सोल्टिनी, महाभोज, कर्मा’ लगायतको छायांकनको तयारी थालिएको छ । यी बाहेक दर्जनौं फिल्मको तयारीमा पनि निर्माताहरू छन् । यो बर्षको अन्त्यसम्म अझै दर्जनौं फिल्मको घोषणा गर्ने तयारीमा निर्माताहरू छन् ।

यसले, आउँदो बर्ष नेपाली फिल्मको बक्स अफिसमा लामो लाइन लाग्ने देखिन्छ । यसले, फिल्म रिलिजको मितिमा पनि दुई वटा दुई भन्दा बढी फिल्मको उपस्थिति हुने पक्का जस्तै छ ।