दया र आँचलको ‘दुखी आत्मा’मा कवि मुकारुङका १० कविता
कवि श्रवण मुकारुङका कविताहरूलाई अब फिल्ममा पनि सुन्न पाइने भएको छ । उनका विभिन्न शीर्षकका १० कविता फिल्म ‘दुखी आत्मा’मा सुन्न पाइने भएको हो ।
कवि मुकारुङले यो फिल्मका लागि विभिन्न १० शीर्षकमा कविता लेखेका छन् । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मको पटकथा अनुसार नै कवि मुकारुङले कविता लेखेको बताइएको छ ।
‘माथि माथि शैलुङुगेमा, तिमी तारे भीर, राई माइलाले गाउँ छोड्यो रे’ जस्ता गीतका रचनाकार मुकारुङले फिल्ममा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुशी व्यक्त गरे ।
फिल्मका मुख्य पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरूको स्वभावबीच एकरूपता पाइएकाले कविता रच्न लगाइएको निर्देशक लामाको भनाई छ । मुकारुङका सबै कविता फिल्मका मुख्य नायक दयाहाङ राईमाथि केन्द्रित गरिएको निर्देशक लामाको भनाई छ ।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाको साथमा आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई लगायतका कलाकारहरुको अभिनय छ । आलोक शुक्लाले खिचेको फिल्म फागुनको २ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको हाल पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।
प्रतिक्रिया