दार्जिलिङमा ‘बमबहादुर’को प्रिमियर

फिल्म ‘बमबहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव कार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यो फिल्मलाई प्रिमियरमा दार्जिलिङका दर्शकहरुले मन पराएका छन् । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंग मञ्च भवनमा यो फिल्मको प्रिमियर आयोजना गरेको थियो ।

सो प्रिमियरमा फिल्मका कलाकार र प्राविधिकहरूलाई सम्मान समेत गरिएको थियो । फिल्मको प्रिमियरमा अनिसा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार बशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको प्रिमियरमा उपस्थिति रह्यो । यो फिल्मले नेपाली, विशेषगरि दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरुलाई उठान गरेको छ ।

फिल्मका मुख्य नायक सौगात मल्ल भने अर्को फिल्मको छायांकनमा व्यस्त रहेकाले प्रिमियरमा उपस्थित हुन सकेनन् । फिल्मले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरुलाई पर्दामा प्रस्तुत गरेको छ ।

कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयसँगै फिल्मको प्राविधिक पक्ष पनि दर्शकले रुचाएका छन् । दार्जिलिङका सुन्दर दृश्यहरुलाई खिचिएको सिनेमाटोग्राफी अत्यन्तै मनमोहक रहेको र पाश्र्व संगीतले फिल्मलाई थप सुन्दर बनाएको प्रतिक्रिया प्रिमियरमा उपस्थित दर्शकले दिएका थिए । यो फिल्म पौषको ५ गतेबाट नेपालमा रिलिज हुँदैछ ।