गैर कानुनी हललाई कारवाही गर्दै बोर्ड, निर्माता थर्काउँदै चलचित्र संघ
वितरक र प्रदर्शक एक ठाउँमा उभिएर निर्मातालाई चेतावनी दिए । चलचित्र संघका सदस्यहरुको मानमर्दन गर्ने निर्माताको फिल्म नै रिलिज नगर्ने चेतावनी समेत चलचित्र संघले दिइसकेको छ ।
तर, गैरकानुनी रुपमा संचालनमा आएका हलहरुलाई कारवाही गर्ने वा चेतावनी दिने काम चलचित्र संघले गर्न अपरिहार्य नै ठानेन । आफ्ना सदस्यहरुको बचाउ गर्ने मात्र होइन, गल्ती गर्दा सजग गराउने काम पनि संघको हो । तर, संघले त्यस्ता सदस्यहरुको बचाउ गर्यो जसले गैरकानुनी रुपमा हल चलाइरहेका छन् ।
निर्माताहरू अहिले एक्लो देखिएका छन् । निर्माता संघ कानमा तेल हालेर बसेको अवस्था छ । चलचित्र संघले भने निर्माताहरूलाई चेतावनीको भाषा बोलिरहेको अवस्था छ ।
झट्ट हेर्दा चलचित्र संघले यसपटक निर्माताहरूलाई चेतावनी दिए पनि, घुर्की अन्तैतिर देखिएको छ । विगत केही दिनदेखि चलचित्र विकास बोर्डले गैरकानुनी रुपमा चलेका हलहरुमाथि निर्मम भएर कारवाही गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले आइतबार आयोजित एक कार्यक्रममा २१ हलमध्ये ६ वटा हललाई कारबाही गरिएको र बाँकी कानुनी प्रक्रियामा आएको बताएका थिए । यतिमात्र होइन, वैशाख १ गतेबाट उनले रियल टाइम बक्स अफिस लागू गर्ने बताइसकेका छन् ।
चलचित्र संघले अहिलेसम्म यो बिषयमा केही पनि बोलेको छैन । स्मरण रहोस् कि, चलचित्र विकास बोर्डले कारबाही गरेका तिनै हलहरुलाई, जुन हलले सही हिसाब नबुझाएको भन्दै ‘पुर्ण बहादुरको सारङ्गी’का निर्माताले हलबाट फिल्म निकाल्ने घोषणा गरेका थिए ।
एकातिर चलचित्र विकास बोर्डले धमाधम गैरकानुनी रुपमा चलेका हलहरुलाई कारवाही गरिरहेको छ, अर्कोतिर त्यस्ता हलहरुको विरुद्धका बोलेका निर्मातालाई चलचित्र संघले मानमर्दन गरेको भन्दै विज्ञप्तिमार्फत् चेतावनी दिइरहेको छ । यसमा, चलचित्र निर्माता संघको धारणा के हुनेछ, प्रतीक्षा गरौं ।
प्रतिक्रिया