नेपाली फिल्म क्षेत्र ‘किराना पसल’ शैलीमा चलेको छः प्रदीप खड्का

नायक प्रदीप खड्काले नेपाली फिल्म क्षेत्र ‘किराना पसल’ शैलीमा चलेको बताएका छन् ।

‘कर्णाली अन्तराष्ट्रिय महोत्सव’को बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘जुन दिन फिल्मलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ, किराना व्यापार जस्तो । १० बजेसम्म बुबा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुबा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चा बच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने । यसरी किराना पसल स्टाइलमा नेपाली फिल्म क्षेत्र चलेको छ ।’

प्रदीपले अगाडि भने–‘आमा निर्देशक, बुबा निर्माता, छोराछोरी नायक–नायिका ।’ यती भन्दै प्रदीप एकछिन हाँसेका थिए । 

प्रदीपले अगाडि भने–‘फिल्म क्षेत्रमा कर्पोरेट व्यापार भयो भने लगानी गर्नेले पनि फाइदा र घाटा हेरेर लगानी गर्छ । फाइदा छ भने गर्छ नत्र गर्दैन ।’

प्रदीपले हलमा देखिएको शोज बाँडफाँडको लफडामा समेत आफ्नो भनाई राखे । उनले भने–‘शुक्रबार शनिबार भएपनि नेपाली फिल्मलाई ३०–३५ प्रतिशतको आरक्षण दिने हो भने लफडा हुन्छ जस्तो लाग्दैन । एउटा पर्दा हुनेले एक दिनमा एक शो अनिवार्य दिनै पर्छ । २–३ पर्दा हुनेले त्यही अनुसार शोज दिन्छ । यस्तो भयो भने शोज वितरणको विवाद हुन्छ जस्तो मलाई लाग्दैन ।’

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको पनि नायक खड्काले खुलेरै तारिफ गरे । उनले, अध्यक्ष डीसीले फिल्म क्षेत्रको हितका लागि नीति–नियम बनाउनेमा आफू विश्वस्त रहेको प्रदीपको भनाई थियो ।