‘पुर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्माताको घोषणा, तर वितरकले मानेनन्

भोलि सोमबारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई हलबाट उतार्ने निर्णय यसको निर्माण कम्पनी सेभेन सिजले गरेको छ । तर, सेभेन सिजले आफैले करोडौं लगानी गरेर बनाएको फिल्म हलबाट उतार्ने निर्णय गरेपनि वितरकले भने मानेका छैनन् । जसकाकारण, भोलिका लागि पनि हलहरुले यो फिल्मलाई शोज उपलब्ध गराएका छन् । 

निर्माताले आफूले चाहेको खण्डमा फिल्म हलबाट उतार्न पाउने अधिकार हुन्छ । तर, यो फिल्मको वितरण कम्पनी टी फक्स फिल्मस् प्रा.लि र बैङकटेस इन्टरटेन्मेन्ट प्रा.लिले भने फिल्म हलबाट उतार्न मानेनन् । प्रदर्शकहरुले पनि फिल्म हलबाट नउतार्न वितरकले भनेका कारण उतार्न नमिल्ने जवाफ निर्मातालाई दिएका छन् । 

यसअघि थुप्रै फिल्म निर्माताले चाहे लगतै हलबाट उतारिएका छन् । दशैंमा फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि निर्माता निश्चल बस्नेतले भनेसँगै हलबाट उतारिएको थियो । तर, यसपटक भने वितरकले निर्माताको कुरा मानेनन् । यसको पछि दुई पक्षविच भएको सहमतिको दोस्रो नम्बरको बुँदामा वितरकले टेकेको देखिन्छ ।

वितरण कम्पनी र निर्माता कम्पनीबीच भएको सहमतिको दोस्रो नम्बर बुँदामा लेखिएको छ–‘दोस्रो पक्ष(निर्माण कम्पनी)ले नेपाली हलहरुमा रिलिज गरेको मिति कात्तिक १५, २०७५ गतेबाट ६ महिनाको लागि नेपाली फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार प्रथम पक्ष(वितरक)मा निहित रहनेछ । उक्त समयावधि दुवै पक्षको आपसी सहमतिमा थपघट गर्न सकिनेछ । प्रथम पक्षको वितरण एवं प्रदर्शन सम्बन्धी अधिकारलाई दोस्रो पक्षले कुनै पनि आधार र कारण देखाई नकारात्मक असर पर्न सक्ने क्रियाकलाप गर्न पाइने छैन । तर, यो व्यवस्थाले कानून विपरीत कार्य गर्न छुट दिएको मानिने छैन ।’

यही बुँदामा टेकेर वितरकले फिल्म हलबाट उतार्न नमानेका हुन् । यसैले, भोलिबाट पनि निरन्तर रुपमा यो फिल्म हलमा लाग्ने देखिएको छ ।