सोमबारबाट ‘तेल भिसा’को शो बढ्ने आशामा ऋचा

रिलिजको तेस्रो सातामा प्रवेश गरेको फिल्म ‘तेल भिसा’ सीमित शोजमा खुम्चिएको छ । दुई साता राम्रै शोजका साथ चलेको यो फिल्म तेस्रो सातामा भने ‘पुष्पा २’को सुनामीलाई सामना गरिरहेको छ ।

नेपाली बक्स अफिसमा समेत ‘पुष्पा २’को सुनामी आएपछि ‘तेल भिसा’ सीमित शोजमा खुम्चिएको हो । तर, फिल्मले दर्शकको माया पाइरहेको भन्दै यसकी निर्मात्री तथा नायिका ऋचा घिमिरे शोज बढ्नेमा आशावादी छिन् । 

बिहिबार बेलुकी दर्शकसँग साक्षात्कार गर्न हल पुगेकी ऋचाले ‘पुष्पा २’को आक्रामक व्यापार सोमबारबाट कम हुने र ‘तेल भिसा’को शोज बढ्ने आशा व्यक्त गरिन् । उनको बुझाइमा, ‘पुष्पा २’ जस्ता फिल्म इनिसियल रुपमा आक्रामक हुन्छन् । तर, ‘तेल भिसा’ जस्तो फिल्म भने दर्शकको साथ पाउँदै गएपछि चल्न थाल्छन् । यसैले, दर्शकले अहिले पनि आफूहरूको फिल्मलाई डिमाण्ड गरिरहेको भन्दै ऋचाले शोज बढ्ने आशा राखेकी हुन् । 

उनले, ‘पुष्पा २’लाई ठूलो माछा र ‘तेल भिसा’लाई सानो माछाको रुपमा तुलना गरिन्  । तर, दुबै प्रकारका माछाले शोज पाउनुपर्ने उनको भनाई छ । 

शंकर घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।