तोकिएको मितिमा रिलिज हुँदैनन् धेरै नेपाली फिल्म

असोजको ३ गतेबाट पोष्टपोन्ड भएको नेपाली फिल्म ‘आउट लः दफा २१९’ अब कुन मितिमा रिलिज हुन्छ पक्का छैन । यसको निर्माणपक्षले नयाँ मिति तोक्न सकेको छैन । असोजको ३ गते भने काम नसकिएको भन्दै प्रदर्शन मिति पोष्टपोन्ड गरियो । 

फागुनको २ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको फिल्म ‘जेरीः अन टप’ पनि अब निर्धारित मितिमा रिलिज नहुने भएको छ । यसको निर्माणपक्षले अझै फिल्मको छायांकन गरिरहेको छ । काम नसकिने भएको भन्दै निर्धारित मितिमा फिल्म रिलिज गर्न नसकिने जानकारी निर्माणपक्षले गराइसकेको छ। 

नेपालमा फिल्मको रिलिज मिति तोक्न मेकरहरु हतार गर्छन् । अरु, कसैले उक्त मितिमा आफ्नो फिल्म रिलिज गर्ला भन्ने भयमा हतार हतार राम्रो मिति बुक हुन्छन् । तर, ती मितिमा फिल्म रिलिज गर्न नसकेर पोष्टपोन्ड गरिन्छ । 

कात्तिकको ३० गते रिलिज हुन नसकेको फिल्म ‘केटी हराएको सूचना’ माघको ११ गते पुग्यो । कात्तिकको १५ गते रिलिज हुन नसकेको फिल्म ‘एक्टर’ माघको १६ गते र ‘मायाबी’ फागुनको १४ गते रिलिज हुने भएको छ । 

निर्माता किरण नेपालीको फिल्म ‘कल्ली’लाई पनि चैत्र २९ गते रिलिज गर्ने भन्दै प्रचार गरियो । तर, फिल्मको छायांकनमा नै ढिलाई भएपछि अहिले यसको निर्माण टिमले चैत्र २९ गतेको रटान छाडेको छ । 

यो बर्ष मात्र रिलिजका लागि पहिले मिति तोकेर पोष्टपोन्ड भएका फिल्महरू धेरै छन् । यसले, दर्शकलाई कन्फ्युज बनाउने गरेको पाइन्छ । फिल्मको काम कहिले सकिन्छ भन्ने सेड्यूल नै मिलाउन नजान्दा निर्माताहरू हतारमा रिलिज मिति तोकेर फुर्सदमा दोधारे सोच बोकेर हिँड्ने गर्छन् । 

आउँदो बर्षको दशैंमा आधा दर्जन भन्दा बढी फिल्मको प्रदर्शन मिति तय भइसकेका छन् । तर, दशैंको समयमा कुन फिल्म हलमा लाग्छन् अहिले नै भन्न नसकिने अवस्था छ ।