‘अञ्जिला’की एञ्जिलालाई बिदाई

फिल्म ‘अञ्जिला’की मुख्य अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बालाई फिल्मको टिमले बिदाई गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि एञ्जिला त्यता जान लागेकी हुन् ।

उनलाई विशेष सम्मानका साथ फिल्मको टिमले बिदाई गर्यो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुहाङ नेम्वाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फुटबल संघका अध्यक्ष विक्रम लामा लगायतको उपस्थिती थियो । 

पत्रकार सम्मेलनमा हङकङमा फिल्मको वल्र्ड प्रिमियर आयोजना हुन लागेको बिषयमा पनि जानकारी दिइएको थियो । निर्देशक मिलन चाम्स र एञ्जिला प्रिमियरमा सहभागी हुनेछन् । मंसिरको २३ गते यो फिल्मको हङकङमा प्रिमियर आयोजना गर्न लागिएको हो ।

फिल्मका निर्देशक मिलन चाम्सका अनुसार, प्रिमियरका लागि एक सातामै टिकट सोल्ड आउट भएको जानकारी दिए । हङकङपछि फिल्मको प्रिमियर जनवरी १८ मा अष्ट्रेलिया, जनवरीको अन्त्यमा जापान र फ्रेबुअरी १५ मा यूके र मार्च २ मा कोरियामा गरिनेछ । यो फिल्म फागुनको २९ गतेबाट भने नेपालमा रिलिज हुँदैछ । 

‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन संघर्ष र सफलताको कथामा आधारित छ । फिल्ममा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र वुद्दि तामाङको मुख्य भूमिका छ । फिल्मका निर्माता प्रेम कुमार श्रष्ठ हुन् ।