‘ह्रस्व दीर्घ’को कस्तो रह्यो तीन हप्ताको बक्स अफिस यात्रा ?
बिहिबारदेखि दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ले नेपाली हलहरु कब्जा गरेपछि हलमा प्रदर्शन नेपाली फिल्महरूको शोजमा भारी कटौती भएको छ ।
कात्तिकको ३० गतेबाट रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन यात्रा पनि भोलिबाट सकिने पक्का भएको छ । बिहिबारदेखि यो फिल्मलाई कुनै पनि हलमा शोज दिइएको छैन ।
निर्माताका अनुसार, यो फिल्मले तीन सातामा ९ करोड माथिको ग्रस कलेक्शन गरेको छ । तर, चलचित्र विकास बोर्डको बक्स अफिस आँकडा सार्वजनिक नभएकाले यो फिल्मले यति नै कमायो भन्न सकिने अवस्था छैन ।
तर, यो फिल्मले जुन आँकडामा व्यापार गर्यो त्यो सुखद छ । किनभने, दर्शकले ‘१२ गाउँ, छक्का पन्जा ५ र पुर्ण बहादुरको सारङ्गी’लाई अथाह प्रेम गरिरहेको समयमा यो फिल्म रिलिजमा आएको थियो । अर्कोतिर, कुनै विदाबिना नै यो फिल्मले एउटा सुखद आँकडा पार गर्यो ।
नीता ढुंगाना र हरिहर अधिकारीले यो फिल्मका लागि ६ करोड खर्च गरेका थिए । दक्षिण भारतीय चर्चित कलाकारहरूलाई उनीहरुले यो फिल्ममा अभिनय गराए । लगानी जति बढी हुन्छ, त्यति नै जोखिम पनि देखिन्छ । तर, नीता ढुंगानाले पहिलो फिल्ममै आफूलाई अब्बल मेकरको रुपमा स्थापित गरेकी छिन् ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्मलाई दर्शकले पनि राम्रो साथ दिए । फिल्ममा केही कमीकमजोरी भएपनि यसको मेकिङले दर्शकको तारिफ पायो । जसकाकारण, यसपटक ‘ह्रस्व दीर्घ’ले एउटा राम्रो आँकडा बनाउन सफल भयो ।
‘पुर्ण बहादुरको सारङ्गी’को दबदबा, विना बिदा पनि फिल्मले दर्शकबाट पाएको माया सुखद छ । यसले, नीतालाई अर्को फिल्म बनाउन उत्प्रेरित गर्नेछ ।
प्रतिक्रिया