प्राविधिक संघको कार्यलयमा सुदर्शन र पूजाको चर्काचर्की
फिल्म रिलिजको समयमा सर्वाधिक ट्रोलको शिकार बनेको फिल्म ‘रावायण’को लफडा अझै सकिएको छैन । फिल्म हलबाट उत्रिसकेको छ । तर, फिल्मका निर्देशक सुदर्शन थापा र नायिका तथा निर्मात्री पूजा शर्माबिचको विवाद भने उत्कर्षमा पुगेको छ ।
यो फिल्मको निर्माणपक्षले प्राविधिकहरुलाई १५ लाख ५५ हजार पारिश्रमिक दिनै बाँकी छ । प्राविधिकहरुको उजुरी परेपछि चलचित्र प्राविधिक संघले सुदर्शन र पूजालाई छलफलका लागि बोलाएको थियो ।
तर, छलफलका क्रममा पूजा र सुदर्शनबिच चर्काचर्की नै परेको वुझिएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले थापा र शर्माबिच चर्काचर्की परेको पुष्टि गरे ।
उनले भने–‘एक पक्ष प्राविधिकहरुलाई बाँकी रहेको रकम दिन सहमत हुनुभयो । अर्को पक्षले भने नमानेको देखियो । यसपछि, दुबै जनाबिच चर्काचर्की भयो ।’
लामाका अनुसार, पुजा शर्मा प्राविधिकहरुलाई बाँकी रहेको पारिश्रमिक दिन तयार देखिएकी थिइन् भने थापाले आनाकानी गरेका थिए ।
लामाले भने–‘उहाँहरुबिचको आन्तरिक समस्या उहाँहरुले नै हल गर्ने कुरा हो । तर, हामी प्राविधिकहरुलाई मर्कामा पार्न दिन्नौं ।’
चलचित्र रिलिजपछि आएको शेयर रकम वितरकले निर्मातालाई दिन बाँकी छ । साथै, डिजिटल राइट्स वापत विक्री गरेको रकममध्ये १५ लाख रुपैयाँ पनि ओएसआर डिजिटलबाट निर्माणपक्षले लिन बाँकी छ ।
पूजा यही रकम आएपछि प्राविधिकहरुलाई बाँकी पारिश्रमिक दिन तयार देखिएकी थिइन् । तर, निर्देशक तथा निर्माता थापाले भने आफूहरुको आन्तरिक हिसाब अरु नै रहेको भन्दै पैसा दिने कुरामा आनाकानी गरेका थिए ।
प्राविधिक संघमा छलफलका क्रममा चर्काचर्की भएपछि सुदर्शन त्यहाँबाट निस्किएका थिए । यसैले, प्राविधिकहरुको बाँकी पैसा दिने बिषय टुंगिएको छैन । अध्यक्ष लामाले भने–‘प्राविधिकहरुले दुःख गरेर काम गरेको पैसा नतिर्ने भन्ने कुरा नै हुँदैन । हामीले निर्माण टिमको कुरा वुझेका छौं । यसैले, उठ्न बाँकी रकम आएपछि लिने बिषयमा सकारात्मक छौं । तर, नदिने कुरा मान्य हुँदैन ।’
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म भदौको २१ गतेबाट रिलिजमा आएको थियो । फिल्म बक्स अफिसमा सफल हुन सकेन ।
प्रतिक्रिया