सलोन र नम्रताले सके ‘रंगी’को छायांकन

नायक सलोन बस्नेत र डेब्यू नायिका नम्रता श्रेष्ठले फिल्म ‘रंगी’को छायांकन सकाएका छन् । २६ दिनमा फिल्मको छायांकन सकिएको निर्माणपक्षले बताएको छ । सान्भी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता पनि सलोन नै हुन् । 

सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको मुख्य भूमिका छ ।

सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेष भण्डारी र भीम बीसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । 

फिल्मको एक गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।