‘जारी’ले अवार्ड नपाएको बिषयमा दीपक र दीपेन्द्रको जुहारी
बुधबार राष्ट्रपति कार्यालय शित्तल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ आयोजना गरियो । यो कार्यक्रम सकिएपछि विभिन्न खालका आलोचना पनि सुनिएका छन् । जसमध्ये, फिल्म ‘जारी’ले कुनै पनि विधामा पुरस्कार नपाएको बिषय मुख्य रुपमा अगाडि आएको छ । गतबर्ष सर्वाधिक धेरै कमाई गरेको र समीक्षकबाट पनि राम्रो तारिफ पाएको यो फिल्मलाई ‘सर्वाधिक कमाई गर्ने फिल्म’को विधामा मात्र पुरस्कार प्रदान गरियो ।
सामाजिक संजाल फेसबुकमा निर्देशक दीपेन्द्र लामाले लेखे–‘उत्कृष्ट फिल्म, निर्देशन, पटकथा, अभिनेता, अभिनेत्री, छायांकन र सम्पादन कुनै पनि विधामा ‘जारी’लाई सकारी अवार्ड नदिनु घोर अन्याय हो । नेशनल फिल्म अवार्डका निर्णायक समितिको फिल्म लिट्रेसी निकै नै दयनीय रहेछ । छर्लङ्ग भयो ।’
दीपेन्द्रको यो स्टाटसमा कलाकार दीपकराज गिरीले लेखे–‘मलाई पनि पहिला पहिला अवार्ड आफैले पाउनुपर्छ जस्तो लाग्थ्यो । आजकल जो सुकैले पाओस् जस्तो लाग्छ । विस्तारै बुझेर ल्याउँदा संसारका कुनै पनि अवार्ड विवादरित हुँदैन रहेछ । तपाइले पाएको बेलामा पनि त अर्को कुनै फिल्मीकर्मीले मैले पनि पाउनुपर्थ्यो भनेर करायो होला । जारी र जुरी शब्दहरु उस्तै भएपनि अवार्ड अर्कैले पायो । दर्शकले मन पराएर अवार्ड दिइसक्यो त जारीलाई । जुरीले फिल्ममा हुनुपर्ने गुण अर्कै फिल्ममा पायो होला । हामी फिल्मीकर्मीले यसले होइन उसले पाउनुपर्थ्यो भन्ने र ?’
दीपकको प्रतिक्रियामा दीपेन्द्रले फेरि जवाफ फर्काउँदै लेखे–‘फिल्मको बारेमा फिल्मीकर्मीले नै बोल्ने हो । हाम्रो बारेमा अरुले बोलिदिदैनन् । मैले यहाँ सबै विधामा जारीले नै पाउनुपर्छ भनेको होइन । जारीले १८ करोड ग्रस गर्यो, यसकारण यही फिल्म उत्कृष्ट हुनुपर्छ भनेको पनि होइन । किनभने फिल्म राम्रो हुनु र व्यापार गर्नु अलग कुरा हो । जारीले पत्रकार, स्तम्भकार, बौद्धिक वर्ग सबैबाट समीक्षा राम्रो पाएको थियो । त्यस्तो फिल्मले एउटै विधामा अवार्ड नपाउने भन्ने पनि हुन्छ र ? भन्न खोजेको हुँ । जारीलाई एउटै पनि विधामा अवार्ड नदिइनु अस्वाभाविक हो ।’
‘जारी’ले अवार्ड नपाएको बिषयमा अन्य फिल्मीकर्मी तथा दर्शकले पनि आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया