‘डोरी’को शुभसाइत, प्रविण र अञ्जना मुख्य भूमिकामा
फिल्म ‘डोरी’को शुभसाइत समारोह सम्पन्न भएको छ । झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभसाइत सम्पन्न गरिएको हो । यो फिल्मको छायांकन आइतबारदेखि सुरु हुनेछ । फिल्ममा नयाँ कथा र शैली पस्कने तयारी निर्माणपक्षको छ ।
यो फिल्ममा प्रविण खतिवडा, अन्जना बराइली, शिशिर वाङ्देल, राज पौडेल, विरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, नुतन लगायतका कलाकारहरुको अभिनय छ । अरुण लामाको निर्देशनमा बन्न लागेको यो फिल्ममा राज थापा कार्यकारी निर्माताको रुपमा छन् ।
सौरभ लामाको छायांकन, राजनराज सिवाकोटीको संगीतमा कविता आले, सजन श्रेष्ठको पनि अभिनय रहनेछ । फिल्मका निर्देशक अरुण लामाले मुहुर्त कार्यक्रममा भने–‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो फिल्मका पात्रहरु आ आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले र कोही मायाको डोरीले ।’
नायिका अञ्जना बराइलीले नयाँ टिमसँग काम गर्न पाउँदा आफूले विशेष अनुभव लिएको बताइन् । यो फिल्ममा नयाँ सोच रहेको र यसले दर्शकलाई पनि फिल्म हेर्दा अनुभुती हुने उनको भनाई छ । यो फिल्मलाई सामाजिक, रहस्यमय र सस्पेन्सलाई प्रस्तुत गरिने निर्माणपक्षको भनाई छ ।
दिनेश भट्टराई निर्माता रहेको फिल्ममा राज थापा कार्यकारी निर्माताको रुपमा छन् । राजु तामाङको फिल्ममा एक्सन रहनेछ ।
प्रतिक्रिया