विजयले सुरु गरे ‘लाज शरणम्’को दोस्रो सेड्यूल

कलाकार विजय बरालको माग ह्वात्तै बढेको छ । साथै, उनलाई अब आफ्नै समय मिलाउन पनि धौ–धौ पर्ने अवस्था आएको छ । 

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले देशव्यापी रुपमा बम्पर व्यापार गरेपछि उनी देश दौडाहामा निस्किएका थिए । देश दौडाहा सकेर विजय फिल्म ‘लाज शरणम्’को सेटमा जोडिएका छन् ।

मंगलबारबाट विजयले माइतीघर स्थित खाद्य गोदामबाट दोस्रो चरणको छायांकन सुरु गरेका हुन् । दशैं अघि डोल्पामा छायांकन सकेको यो फिल्मको टिमले काठमाडौंको तालिकाको छायांकन केही दिन अगाडि सुरु गरेको थियो । हालसम्म फिल्मको छायांकन ९५ प्रतिशत सकिएको छ ।

फिल्मको प्रदर्शन मिति फागुनको १४ गतेलाई तोकिएको छ । फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राई, राजभक्त कामत, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा सुदिप बरालको छायांकन छ । जेपिटी क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरिरहेका छन् । फिल्ममा नविन श्रेष्ठ निर्माता र नरेश शाह सह–निर्माताको रुपमा छन् ।