‘पुर्ण बहादुरको सारङ्गी’ माथि बौद्धिक सम्पत्ती चोरीको आरोप
कात्तिकको १५ गते लक्ष्मीपूजाबाट रिलिजमा आएको नेपाली फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । फिल्मले केही दिनमै ५० करोडको आँकडा पार गर्ने देखिएको छ । तर, फिल्म चलिरहँदा यो माथि विभिन्न खालका आरोप भने लाग्न छाडेको छैन ।
यो फिल्ममाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । फिल्म ‘लाज’का लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको माग सहित उजुरी दर्ता गरेका हुन् । उनले, आफूले लेखेको फिल्म ‘लाज’को कथालाई नै तोड मोड गरेर यो फिल्म बनाइएको आरोप लगाएका छन् ।
उनले उजुरीमा लेखेका छन्–‘विगत दुई बर्षदेखि मैले ‘पुर्ण बहादुरको सारङ्गी’का निर्देशक तथा लेखक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ । र उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङलाई पनि ‘लाज’ माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण फिल्म निर्माण सम्बन्धमा छलफल गरिएको हो ।’
‘लाज’का लेखक लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएको आरोप लगाउँदै सम्बन्धित व्यक्तिसँग छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् । सामाजिक संजालमा अजितले केही दिन अगाडि पनि आफ्नो कथासार चोरिएको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।
आफूले लेखेको फिल्ममा पनि बाबु र छोराको नै कथा उठान गरेको आरोप उनको छ ।
प्रतिक्रिया