दशैंमा कतीवटा फिल्म ?
यो बर्षको दशैंमा रिलिज भएका तीन वटा फिल्म र ती फिल्मको व्यापारिक आँकडाले फिल्मीकर्मीहरुलाई हौस्याएको छ । दशैंमा फिल्म रिलिज गर्दा मालामाल भइन्छ भन्ने सोच समेत अधिकांश निर्मातामा हाबी भएको पाइन्छ । यतिमात्र होइन, दशैंमा फिल्म जुध्दा पनि खासै फरक नपर्ने उल्टो फाइदा हुने बुझाई पनि निर्माताको छ । यसैले, आगामी बर्षको दशैंका लागि यो बर्ष नै फिल्म रिलिज गर्न हानथाप देखिएको छ ।
हुनत, सुरुमा रिलिज मिति घोषणा गर्ने र पछि विविध कारण देखाउँदै प्रदर्शन मिति पछि सार्ने शैली नेपाली निर्माताका लागि नयाँ होइन । तर, अहिलेसम्मको अवस्था हेर्दा आउँदो बर्षको दशैंमा फिल्मको बाढी लाग्ने देखिन्छ ।
निर्माता रोहित अधिकारीले फिल्म ‘माइतीघर’को घोषणा गरे । यो फिल्मको घोषणा गर्दै उनले आगामी बर्षको दशैंको फूलपातीमा फिल्म रिलिज गर्ने जानकारी दिएका छन् । फिल्मको छायांकन चैत्रमा सुरु हुनेछ । तर, कलाकार नै फाइनल नभएको अवस्थामा रोहित अर्को बर्षको दशैं बुक गरेर बसेका छन् ।
निर्माता सुशील पोखरेलको फिल्म ‘परालको आगो’ पनि आउँदो बर्षको दशैंमा रिलिज हुने घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति घोषणा गर्दै सुशीलले नायिकाको रुपमा सुहाना थापालाई फाइनल गरिसकेका छन् ।
यो बर्ष फिल्म ‘१२ गाउँ’ले बम्पर व्यापार गरेपछि हौसिएका नायक विराज भट्टले आउँदो बर्षको दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरिसकेका छन् । वुझिएअनुसार, उनी ‘१२ गाउँ २’ दशैंमा ल्याउने तयारीमा छन् ।
निर्माता तथा निर्देशक अशोक शर्माले नायक दयाहाङ राइलाई मुख्य भूमिकामा राखेर निर्माण गर्न लागेको फिल्म पनि अर्को बर्षको दशैंमा आउने बताइएको छ । एक भेटमा अशोकले आफ्नो फिल्म दशैंमा नै आउने बताए ।
यी बाहेक अन्य थुप्रै फिल्म पनि दशैंमा नै रिलिज गर्ने गरि काम अगाडि बढाइएको वुझिएको छ । निर्देशक रामबाबु गुरुङको नयाँ फिल्मलाई पनि दशैंमा ल्याउने तयारी गरिएको छ । तर, औपचारिक रुपमा रामबाबुले केही पनि बोलेका छैनन् ।
निर्देशक प्रदीप भट्टराईले गतबर्ष फिल्म ‘महाजात्रा’ रिलिज गर्दा नै वि.सं २०८२ को दशैंमा नयाँ फिल्म रिलिज गर्ने घोषणा गरिसकेका छन् । फिल्मको अन्त्यमा ‘वि.सं २०८२ को दशैंमा भेटौँला’ लेखिएको थियो । प्रदीप पनि फिल्मको तयारीमा लागिसकेका छन् ।
आधा दर्जन बढी फिल्म अर्को बर्षको दशैंमा रिलिज गर्ने गरि कस्सिएका छन् । अझै, समय रहेकाले अन्य कति निर्माताले दशैँलाई टार्गेट गरेर फिल्म घोषणा गर्ने हुन् हेर्न बाँकी छ । तर, नेपाली फिल्मको बजार विस्तार भएको सत्य हो । हलहरुको संख्या बढेको पनि सत्य हो । तर, एउटै मितिमा आधा दर्जन बढी फिल्म बजारले स्विकार गर्न सक्छ या सक्दैन सोच्न आवश्यक छ ।
प्रतिक्रिया