‘बम बहादुर’को टिजरमा सौगातको फरक रुप

नायक सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि कात्तिकको ३० गतेलाई तोकिएको फिल्मको प्रदर्शन मिति अब पौष ५ लाई तोकिएको छ ।

यो फिल्म नेपाल र भारतमा एकसाथ रिलिज हुने निर्माणपक्षले बताएको छ । सार्वजनिक टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ’ भनेको हेर्न सकिन्छ । यो फिल्म आज भन्दा ३८ बर्ष अगाडि भएको घटनाहरूमाथि आधारित रहेर तयार पारिएको निर्माणपक्षले बताएको छ ।

फिल्मले दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षको कथालाई उजागर गरेको निर्माणपक्षको भनाई छ । यो फिल्मलाई जोन राईले निर्देशन गरेका हुन् । यो फिल्मले भारतका नेपाली समुदायले भोगेको संघर्षको इतिहासलाई डिजिटल दस्तावेजका रुपमा प्रस्तुत गर्ने बताए ।

बिस्ट ब्रदर्स फिल्मस् प्रा.लिको निर्माणमा बनेको यो फिल्मको प्रमुख भूमिकामा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान लगायतका कलाकारको अभिनय छ ।

सञ्जीव कार्कीको लगानीमा बनेको फिल्ममा जोन राई र रुपेश तामाङको कथा र  पटकथा, सुजय कुमार घोषको छायांकन, ज्ञान गुरुङको सम्पादन, दीपङ्कर सिंह मुखियाको संगीत छ ।