पुराना नायिकाहरुको ‘बलियो कमब्याक’


फिल्म ‘ह्रस्व दीर्घ’ हेरेपछि नायिका विपना थापाको कामको चौतर्फी तारिफ भइरहेको छ । फिल्म हेरेर हलबाट रुँदै निस्किएका दर्शकलाई पनि विपनाको अभिनयले बाँधेको हो । विपना थापाको कमब्याक बलियो बनेको छ । अब, उनले आफूलाई फिल्म क्षेत्रमा निरन्तर रुपमा अगाडि बढाउन सकिन् भने उनको अभिनयले दर्शकलाई अझै जोड्ने छ । 

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘तेल भिसा’मा नायिका पूजा चन्दको अभिनयको पनि चौतर्फी तारिफ भइरहेको छ । एक श्रीमती, आमा र सासुको भूमिकामा पूजा चन्दले बेजोड अभिनय गरेकी छिन् । पूजा चन्दको अभिनयले दर्शकलाई बाँधेको छ । केही दर्शक हलमा रुनुको कारण पनि पूजा नै हुन् । 

यही फिल्ममा ‘वकिल’ बनेकी नायिका ऋचा घिमिरेको अभिनयले पनि दर्शकको मन छोएको छ । ऋचाले आफूलाई अमेरिकामा रहने एक नेपाली वकिलको भूमिकामा बलियो रुपमा प्रस्तुत गरेकी छिन् । पूजा र ऋचाको अभिनयले फिल्मका मुख्य दुई कलाकार विपिन कार्की र वर्षा राउतको अभिनयलाई नै ओझेलमा पारिदिएको छ । 

नेपाली फिल्म क्षेत्रमा पुराना नायिकाहरूको बलियो कमब्याक भइरहेको छ । उसो त फिल्म ‘दाल भात तरकारी’बाट नायिका निरुता सिंहले पनि कमब्याक नगरेकी होइनन् । तर, यो फिल्ममा उनको अभिनय ‘लाउड’ हुँदा दर्शकले खासै रुचाएनन् । निरुताले पनि अब आफूलाई विपना र पूजाले जस्तै भूमिकामा ढाल्न आवश्यक छ । 

फिल्ममा काम गर्दागर्दै विदेश हानिएका नायिकाहरू फेरि फिल्म क्षेत्रमा फर्किन थालेका छन् । उनीहरुको कामलाई दर्शकले पनि निकै रुचाएका छन् ।