के ‘ह्रस्व दीर्घ’बाट हरिहरले आफूलाई प्रमाणित गरेका हुन् ?
फिल्म रिलिजको दोस्रो सातामा नायिका नीता ढुंगाना केही खुशी देखिइन् । फिल्म रिलिजको दिनदेखि नै नीताको अनुहारमा विभिन्न खालका भाव देखिए । कहिले उनी उत्साहित देखिइन्, कहिले दुःखी त कहिले आक्रोशित । नीताले फिल्मलाई नकारात्मक भन्ने दर्शकलाई ‘गिरोह’ लागेको आरोप लगाइन् । फिल्मलाई राम्रो भन्ने मात्र ‘दर्शक’ हुन् भन्ने उनको बुझाई थियो ।
तर, फिल्म रिलिजको दोस्रो साताको शनिबार हलमा पुग्दा भने नीता उत्साहित देखिइन् । फिल्मले विश्व बजारबाट २१ करोड कमाएको दाबी गरेकी नीता अब भने केही राहत महशुश गर्दैछिन् । उनै, नीताले आफ्ना श्रीमान् तथा फिल्मका नायक हरिहर अधिकारीलाई बधाई दिइन् ।
उनले भनिन्–‘बधाई छ बुढा, तपाइले आफूलाई प्रमाणित गर्नुभएको छ । आज बच्चादेखि बृद्धसम्मको मुखमा हरिको नाम छ । तपाइले मेरो फिल्ममा राम्रो अभिनय गर्नुभयो, धन्यवाद ।’
नीताले प्रशंसा गरिरहँदा हरिहर खुशी देखिए । नीताले हरिहरलाई ‘आई लभ यू बुढा’ भन्दै फुर्काइन् ।
के नीताले भने जस्तै दोस्रो फिल्मबाटै हरिहरले आफूलाई प्रमाणित गरेका हुन् त ? फिल्म हेरेका केही दर्शकले हरिहरको कामको तारिफ गरेका छन् भने केहीले आलोचना ।
हरिहरको अभिनय, नृत्य र एक्सनले मिश्रित प्रतिक्रिया पाएको छ । हरिहरले ‘शुभ लभ’मा भन्दा यो फिल्ममा राम्रो काम गरेका छन् । तर, यसको अर्थ उनले अहिले नै प्रमाणित भने गरिसकेका छैनन् । उनले, आफूलाई प्रमाणित गर्न अझै समय लाग्नेछ । किनकी, हरिहरको नृत्यको त एउटा गीत रिलिज हुँदा नै आलोचना भएको हो ।
तर, फिल्ममा हरिहरले मिहिनेत भने गरेका छन् । उनले, आफूलाई उत्कृष्ट देखाउनका लागि हरसम्भव प्रयास भने गरेका छन् । यसैले, नीताले भने जस्तै उनले आफूलाई प्रमाणित त गरिसकेका छैनन् । तर, उनको कोशिशलाई कमजोर आँकलन गर्न भने मिल्दैन ।
प्रतिक्रिया