हलमा ‘पुर्ण बहादुरको सारङ्गी’को दबदबा, कस्तो छ ‘तेल भिसा र अग्निदहन’को ओपनिङ ?


कात्तिकको १५ गते लक्ष्मीपूजाको दिनबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले आजका दिनमा पनि हलमा दबदबा कायम गरिरहेको छ । यो फिल्मसँगै रिलिजमा आएका दुई बलिउड फिल्मले दर्शकको अपेक्षित साथ पाएनन् । 

यसपछि, हलमा हरेक साताको अन्तरमा एउटा नयाँ नेपाली फिल्म रिलिज भइरहेका छन् । कात्तिकको ३० गते ‘ह्रस्व दीर्घ’ र मंसिरको ५ गते ‘तेल भिसा’ हलमा लागे । ‘ह्रस्व दीर्घ’ले दोस्रो साताको शनिबारसम्म ६ करोडको हारहारीमा ग्रस कलेक्शन गरेको निर्माणपक्षको दाबी छ । 

यता, शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘तेल भिसा’को व्यापार भने अपेक्षित रहन सकेको छैन । यो फिल्मले शुक्रबार औषत ओपनिङ गर्यो । डेढ सय शोजका साथ रिलिजमा आएको फिल्मले शनिबार भने राम्रै व्यापार गर्यो । केही हलमा यो फिल्मको अकुपेन्सी उच्च देखियो । 

तर, आज आइतबार भने बिहानैबाट हलमा दर्शकको उपस्थिति कमजोर छ । निर्माणपक्ष भने दर्शक बलियो वर्ड अफ माउथका कारण हलमा आउने कुरामा विश्वस्त छ । 

विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । यो फिल्मसँगै रिलिजमा आएको अर्को फिल्म ‘अग्निदहन’को व्यापार भने निकै नै कमजोर देखियो ।

फिल्मले दर्शकको साथ पाउन सकेन । फिल्म कथावस्तुका हिसाबले राम्रो भएपनि कमजोर प्रचारका कारण फिल्मको व्यापार फितलो देखिएको हो । 

७ महिना निरन्तर नयाँ नेपाली फिल्म रिलिज भइरहेका थिए । अब, करिब डेढ महिना हलमा नयाँ फिल्म रिलिज हुने छैनन् ।