नीताको दाबी–‘ह्रस्व दीर्घ’ले लगानी उठाइसक्यो’
फिल्म ‘ह्रस्व दीर्घ’की नायिका तथा निर्मात्री नीता ढुंगानाले यो फिल्मले लगानी उठाइसकेको दाबी गरेकी छिन् । एक सातामा नेपाली बक्स अफिसमा ५ करोड ग्रस कलेक्शन गरिएको भनिएको फिल्मले विश्व बजारबाट लगानी उठाइसकेको दाबी निर्माता ढुंगानाको छ । उनले सामाजिक संजालमा लेखेकी छिन्–‘हामीले भारतमा ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेका छौं । केही समय पछाडि भारतमा पनि हामीले हलमा फिल्म रिलिज गर्नेछौँ ।
ओभरसिजमा पनि योजना बनिरहेका छन् । केही ठाउँमा हामीले फिल्म बक्स अफिसमा रिलिज गर्दैछौं । केही ठाउँमा फिल्म सोल्ड आउट भइसकेको छ । हामी पूर्ण रुपले सुरक्षित भइसकेका छौं ।’
दर्शकहरुले आफूलाई निकै माया गरेको र आफ्नो बिषयमा चिन्ता गरेकाले पनि आफूले यो कुराको जानकारी गराएको नीताको भर्नाइ छ । नीताले अगाडि लेखेकी छिन्–‘जती नै मान्छेले खुट्टा तान्ने कोशिश गरे पनि, जति नै अगाडि बढ्न नदिए पनि, मेरा दर्शकहरुले मलाई हात समातेर अगाडि बढाइदिनुभयो । मेरो लागि रुने दर्शक मैले कहाँ भेटुँला र ?’
आजबाट दोस्रो सातामा प्रवेश गरेको यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहँदा शोजमा भने आफूहरूलाई पेलिएको गुनासो निर्माणपक्षले गरेको छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, प्रदीप राउत, ब्रम्मानन्दम, विपना थापा, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया