‘बलिदान’को अन्तिम चरणको छायांकन सुरु
एकातिर निर्देशक सन्तोष सेनको प्रतीक्षित फिल्म ‘बलिदान’को टिममा लफडा भएको खबरहरू बाहिरिरहेका छन् । तर, अर्कोतिर यसको निर्माणपक्षले ४५ दिनको अन्तिम चरणको छायांकन आजबाट सुरु गरेको छ ।
शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चाडपर्वका कारण फिल्मको छायांकन रोकिएको भन्दै अब तीव्र गतिमा काम अघि बढ्ने बताइएको छ । छायांकनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरू मोरङ पुगेका छन् । फिल्मको रिलिज मितिबारे अहिले नै निर्माणपक्षले केही पनि बोलेको छैन ।
छायांकन सकिएको भोलिपल्ट टिजर सहित प्रदर्शन मिति घोषणा गर्ने बताइएको छ । एक्सन प्रधान कथामा निर्माण भएको फिल्ममा दक्षिण भारतका एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधि प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । यो फिल्मको अन्तिम चरणको छायांकन महेश पौडेलले गर्दैछन् ।
यसअघिको छायांकन संजय लामाले गरेपनि उनी अर्को फिल्मको छायांकनमा व्यस्त हुनुपर्ने भएकाले पौडेलले जिम्मेवारी लिएको निर्माणपक्षको भनाई छ । यो फिल्मलाई पवन ब्राडफोर्डले निर्माण गरिरहेका छन् ।
प्रतिक्रिया