५ करोड क्लबमा ‘ह्रस्व दीर्घ’

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ ५ करोड क्लबमा प्रवेश गरेको छ । निर्माणपक्षले सार्वजनिक गरेको मंगलबार सम्मको कलेक्शन ४ करोड २९ लाख छ । फिल्मले बुधबार देशभरका सबै जसो शोमा सुखद कमाई गर्यो ।

यसमा नेपालगञ्जको योगदान विशेष रहन पुग्यो । योसँगै फिल्म ५ करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले एक सातामा ५ करोड माथिको ग्रस कलेक्शन गर्ने देखिएको छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्म हेर्नका लागि विशेषगरि बेलुकी र रात्रीकालिन शोजमा दर्शकको चाप उच्च छ । बिहानी र दिउँसोको शोजमा दर्शकको चाप औषत देखिएको छ । 

नीता ढुंगानाको निर्माणमा बनेको यो फिल्मले नेपालबाट मात्र लगानी सुरक्षित गर्न अझै ९ करोड माथिको ग्रस कलेक्शन गर्नुपर्ने हुन्छ । फिल्मको बलियो वर्ड अफ माउथ रहेका कारणले पनि फिल्मको शोजको गति सुखद देखिएको हो । 

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप राउत, ब्रम्मानन्दम, अली, विपना थापा, किरण केसी, सरोज खनाल, गरिमा शर्मा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ ।