‘अग्निदहन’: ‘नपत्याउने खोलाले बगाउन सक्छ’

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘अग्निदहन’को बुधबार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ । प्रिमियरमा यो फिल्मले उत्कृष्ट प्रतिक्रिया समेत पाएको छ । अधिकांशले फिल्म हेरेपछि ‘नपत्याउने खोलाले बगाउन सक्छ’ भन्ने प्रतिक्रिया दिएका छन् ।

फिल्म हेर्न पुगेका अधिकांश फिल्मीकर्मी, राजनीतिकर्मी, लोक गायक, गायिकाहरूले यस्ता फिल्म अझै बन्नुपर्ने प्रतिक्रिया दिए । विशेषगरि, फिल्मको कथावस्तुले उठाएको बिषय, प्रस्तुति बेजोड छ । 

बोक्सी हुँदैन भन्ने सन्देश दिनका लागि यो फिल्म सफल भएको देखिन्छ । यो फिल्मले समाजमा रहेको बोक्सी कुप्रथाको भयानक अन्धविश्वासलाई गज्जब तरिकाले देखाएको प्रतिक्रिया अधिकांशको थियो । यो फिल्मको यसअघि पनि थुप्रै ठाउँमा च्यारेटी भइसकेको छ । फिल्म हेरेका सबै दर्शकले बोक्सी अन्धविश्वास मात्र रहेको भन्ने प्रतिक्रिया दिएका थिए । 

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

फिल्ममा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । 

यो फिल्मको वर्ड अफ माउथ बलियो आउन सक्छ । जसकाकारण, फिल्मले विस्तारै दर्शकको साथ पाउने संभावना उच्च छ ।