मोफसलमा नेपाली फिल्मको गज्जबको क्रेज
काठमाडौंका केही हलको बूकिङ हेरेर वा दर्शक देखाएर कुनै फिल्म हिट वा फ्लपको घोषणा गरिन्छ । तर, नेपाली फिल्मको क्रेज मोफसलमा अझै देखिएको छ ।
फिल्मीकर्मीहरु फिल्म प्रचारका लागि काठमाडौंमा नै बढी केन्द्रित हुने गरेका छन् । तर, मोफसलमा नेपाली फिल्मको व्यापार मारामार देखिएको छ ।
कुनै समय हिन्दी फिल्म मात्र चल्छ भनिएको नेपालगन्जमा अहिले नेपाली फिल्मको व्यापार मारामार छ । ‘क्यूएफएक्स बागेश्वरी र सिने रोयल’मा दर्शकको चाप उच्च देखिएको छ । फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले नेपालगञ्जको ‘सिने रोयल’ हलबाट मात्र १ करोड ग्रस कलेक्शन गरेको पत्रकार रामचन्द्रले जानकारी दिएका छन् ।
आज मात्र ‘नेपालगञ्ज’का बागेश्वरी र सिने रोयलमा फिल्म ‘ह्रस्व दीर्घ’ले १६ शोज पाएको थियो । ती सबै जसो शोमा दर्शकको चाप उच्च छ ।
यस्तो क्रेज मोफसलका अधिकांश हलमा देखिएको छ । पूर्वको बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगरमा नेपाली फिल्मको व्यापार उच्च छ ।
यस्तै, चितवन, पोखरा, बुटवल, दाङ, धनगढीमा पनि नेपाली फिल्मले आक्रामक व्यापार गरिरहेका छन् । धनगढी, दाङमा ‘१२ गाउँ, छक्का पन्जा ५, पूर्ण बहादुरको सारङ्गी, ह्रस्व दीर्घ’ले गज्जबको व्यापार गरे । यसले, मोफसलमा पनि नेपाली फिल्म हेर्ने दर्शक फेरि फर्किएको प्रष्ट हुन्छ ।
कुनै समय काठमाडौं भन्दा मोफसलमा बढी फिल्म चल्थे । बिचमा मोफसल सुस्ताएको थियो । तर, फेरि अहिले मोफसलमा पनि सुविधा सम्पन्न हलहरु खुल्न थालेका छन् । दर्शकलाई फिल्म हेर्नुपर्छ भन्ने सोच विकसित भएको छ । जसकाकारण, मोफसलका अधिकांश जिल्लामा नेपाली फिल्मको शेयर उच्च आउन थालेको छ ।
प्रतिक्रिया