असोजपछि सुपरहिट नै सुपरहिट फिल्म

असोज महिनाबाट नेपाली फिल्म क्षेत्रको मुहार फेरिएको छ । अहिले, दर्शकको मन छुने कथा बनाउन सकेको खण्डमा फिल्म चल्दो रहेछ भन्ने तर्क फिल्म क्षेत्रमा जताततै सुनिन्छ । फिल्म क्षेत्रमा एक प्रकारले खुशी संचय भएको छ । 

असोज महिनामा मात्र नेपाली फिल्मले सुपरहिट नै सुपरहिट फिल्म  पायो । फिल्म ‘खुस्मा’ले राम्रो व्यापार गरेपछि यो क्रम सुरु भएको हो । दशैंमा त नेपाली फिल्मको व्यापार उकालो नै लाग्यो । फिल्म ‘बेहुली फ्रम मेघौली’ हिटको बाटोमा थियो । तर, निर्माताले फिल्म उतारे । 

‘१२ गाउँ र छक्का पन्जा ५’ ब्लकबस्टर भए । यी दुई फिल्मले बक्स अफिसमा २० करोड माथिको व्यापार गरे । 

यी दुई फिल्मको रफ्तार चलिरहेको समयमा तिहारमा रिलिज भएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले त ऐतिहासिक रेकर्ड नै बनाएको छ । फिल्मले बक्स अफिसमा ५० करोड ग्रस कलेक्शन गर्ने दौड समातेको छ  । ३७ करोड भन्दा माथिको कलेक्शन फिल्मले गरिसकेको छ । 

कातिक ३० मा रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ प्रति दर्शकको मोह उस्तै छ । यो फिल्मले पनि शुक्रबारबाट दर्शकको राम्रो साथ पाइरहेको छ ।

हरेक दिन फिल्म हेर्नका लागि दर्शक बढेको अवस्था छ । ६ करोडको बजेटमा बनेका कारण फिल्मले नेपालबाट लगानी सुरक्षित गर्ला या नगर्ला अहिले नै भन्न सकिने अवस्था छैन । तर, फिल्मको आजसम्मको व्यापारलाई निकै राम्रो मान्नुपर्छ । 

दर्शकले हरेक साता रिलिज भएका फिल्मलाई उत्कृष्ट तरिकाले साथ दिएका छन् । यसले, नेपाली फिल्म क्षेत्रमा सुनौलो दिन फर्किएको टिप्पणी समेत हुन थालेको छ । असोजपछि रिलिज भएका अधिकांश फिल्मले दर्शकको भरपुर साथ पाएका छन् ।