‘ह्रस्व दीर्घ’ले २ दिनमा २ करोड कमाएको निर्माणपक्षको दाबी

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले शुक्रबार र शनिबार २ करोडको व्यापार गरेको निर्माणपक्षले दाबी गरेको छ । 

निर्माणपक्षले उपलब्ध गराएको व्यापारिक आँकडामा फिल्मले शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको उल्लेख छ । 

फिल्मले आइतबार भने बेलुकी र रात्रीकालिन शोजहरुमा दर्शकको राम्रो साथ पाएको थियो । 

६ करोडको बजेटमा निर्माण भएको यो फिल्मले बक्स अफिसमा १४ करोड ग्रस कलेक्शन गरेको खण्डमा मात्र लगानी सुरक्षित हुने अवस्था आउँछ ।

यसैले, यो फिल्म अझै केही हप्ता आक्रामक रफ्तारमा चल्नुपर्ने हुन्छ । 

चन्द्र पन्तको निर्देशनमा नायिका नीता ढुंगानाले निर्माण गरेको यो फिल्मलाई दर्शकले सुखद प्रतिक्रिया दिइरहेका छन् । फिल्म हलमा दर्शक रोइरहेको देख्न सकिन्छ । फिल्मको क्लाइमेक्सको दृश्यले दर्शकलाई छोएको छ ।

नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रदीप राउत, ब्रम्मानन्दम, अली, रेखा थापा, संचिता लुइँटेल, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्मको छायांकन र मेकिङको उच्च चर्चा भइरहेको छ ।