क्रिकेटसँग जोडिदै नेपाली कलाकार
भारतमा आयोजना हुने ‘आईपिएल’मा बलिउडको पनि ठूलो लगानी छ । बलिउडका नाम चलेका सेलिब्रिटीहरुले आफ्नै टिम तयार पारेर ‘आइपिएल’मा सहभागिता जनाइरहेका छन् । क्रिकेटको रोमाञ्चक खेलले विश्वभर रहेका क्रिकेट प्रेमीलाई आकर्षित गरिरहेको छ ।
अब, नेपालमा पनि कलाकारहरू क्रिकेटसँग नजिक हुन थालेका छन् । यसअघि थुप्रै खेलमा उपस्थित भएर कलाकारहरूले क्रिकेट खेलसँग भावनात्मक सम्बन्ध जोडेका थिए । तर, अब प्रत्यक्ष रुपमा नै कलाकारहरू क्रिकेट खेलसँग जोडिन थालेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ‘एनपिएल’मा नेपाली कलाकारहरू सद्भावना दूतको रुपमा जोडिएका छन् ।
नायिका स्वस्तिमा खड्कालाई ‘कर्णाली एक्स’ले ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरिसकेको छ । यस्तै, नायक राजेश हमाललाई पनि ‘लुम्बिनी लायन्स’ले ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरिसकेको छ ।
अब, नायक दयाहाङ राइलाई पनि ‘विराटनगर किंग्स’ले ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । आज काठमाडौंमा कलाकार राई र विराटनगर किंग्सबिच संझौता हुँदैछ ।
यसरीहेर्दा, मंसिरको १५ गतेबाट सुरु हुन लागेको पहिलो एनपीएलमा नेपाली कलाकारहरू प्रत्यक्ष रुपमा जोडिरहेका छन् ।
प्रतिक्रिया