‘अग्निदहन’मा ‘धामी’ बनेका माओत्से भन्छन्–‘इमेज बिग्रिएला भन्ने डर छैन’
कलाकार माओत्से गुरुङले अभिनय गरेको फिल्म ‘अग्निदहन’ शुक्रबारदेखि रिलिजमा आउँदैछ । यो फिल्ममा उनी धामीको भूमिकामा देखिदैछन् । माओत्सेका अनुसार, यो फिल्ममा धामीको चरित्र निर्वाहा गर्न सजिलो भने थिएन ।
उनले भने–‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन समाजलाई नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी पनि गरेको थिइनँ । म गाउँमा जन्मेर हुर्केको मान्छे हुँ । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तीनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।’
माओत्सेले आफूले धामी झाँक्रीले गरेको पूजाआजा र अनुष्ठान बच्चैदेखि देखेको हुनाले यो भूमिका निर्वाहा गर्न सजिलो भएको बताए । उनले भने–‘घरमा सामान्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ ।’
यो फिल्ममा धामी बनेका माओत्सेले महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गरेका छन् ।
माओत्सेले फिल्म होस् या नाटकमा सकारात्मक र नकारात्मक दुबै प्रकारका भूमिका निर्वाहा गरेका छन् । यसैले, यो फिल्ममा धामीको चरित्र निर्वाह गर्दा उनलाई आफ्नो इमेज बिग्रिएला भन्ने डर लागेको रहनेछ । उनले अगाडि भने–‘म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टागोनिस्ट मात्रै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु ।’
माओत्सेले बोक्सीको आरोप लागेका महिलाप्रति सबै धामी क्रूर हुँदैनन् । कतिपय धामीले मनोवैज्ञानिक ट्रिटमेन्ट गरेको पनि आफूले देखेको उनको भनाई छ । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । असोज ७ गतेबाट रिलिजमा आउन लागेको फिल्मबाट माओत्से आशावादी देखिए ।
प्रतिक्रिया