सौरभको ‘कर्मा’मा विपिनको जोडी उपासना

नायिका उपासना सिंह ठकुरीले नयाँ फिल्म ‘कर्मा’ साइन गरेकी छिन् । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा उपासनालाई केही दिन अगाडि साइन गरिएको हो । निर्देशक चौधरीले फिल्ममा ठकुरी भित्रिएको पुष्टि गरे । 

यो फिल्ममा नायक विपिन कार्की मुख्य भूमिकामा देखिदैछन् । विपिन र उपासनाले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । यो फिल्मका लागि विपिनले ८ केजी तौल समेत बढाएका छन् । 

फिल्ममा कलाकार मुकुन भुसाल पनि भित्रिएका छन् । फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको अहिले सर्वत्र चर्चा छ । फिल्ममा उनी भिलेनको रुपमा देखिदैछन् । 

मंसिरको २० गतेबाट छायांकनमा जान लागेको फिल्मलाई वसन्त लम्सालले निर्माण गर्दैछन् । चैत्रको २९ गते रिलिज गर्ने टार्गेट राखेर फिल्मको काम अगाडि बढाइएको निर्देशक चौधरीले बताए । 

यो फिल्मको छायांकन दाङ र रुकुममा गरिनेछ । सौरभले निर्देशन गरेको ‘अगस्त्य’ले गतबर्ष चर्चा पाएको थियो । यो फिल्म शुक्रबारदेखि एमएसएम एपमा पनि रिलिज भएको छ ।