‘परालको आगो’ बनाउँदै सुशील

फिल्म ‘परालको आगो’ निर्माण हुने भएको छ । कथाकार गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’मा केन्द्रित रहेर यो फिल्म बन्न लागेको हो । 

मैनाली कथा पुरस्कार ट्रस्टले हरि ओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मन्जुरी दिएको हो । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा समावेश छ । फिल्मका निर्माता सुशील कुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन् । यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ ।

यही नाममा निर्देशक प्रताप सुब्बाले ४५ बर्ष अगाडि फिल्म निर्माण गरेका थिए । फिल्मका निर्माता पोखरेलका अनुसार, यसपटक लोकेशन, प्रस्तुतीकरण र पटकथालाई फरक तरिकाले प्रस्तुत गरिनेछ ।

लक्ष्मण सुनारको निर्देशनमा तयार हुने यो फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ । फिल्मका लागि कलाकार फाइनल गरिएको छैन ।